logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

गाउँपालिकाले इ–हाजिरी राख्न खोज्यो, प्रधानाध्यापकले टेरेनन


  • उज्यालो अभियान

श्रीराम जनता निम्न माध्यमिक विद्यालय बडकुर्वामा प्रयोग नगरी राखिएको इ–हाजिरी ।

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण विद्यालयमा इ–हाजिरी राख्न सुरु गरे पनि केही विद्यालयका प्रधानाध्यापकले भने अटेरी गरेका छन् ।

गाउँपालिकाका २२ वटा सामुदायिक विद्यालयमध्ये १८ वटा विद्यालयमामा इ–हाजिरी राखिसकिएको छ । चारवटा विद्यालयले भने इ–हाजिरी राख्न अटेरी गरेका हुन् ।

गाउँपलिकाको वडा नं. ३ मा रहेका श्रीराम जनता निम्न माध्यमिक विद्यालय बडकुर्वा र ज्ञानज्योति प्राथमिक विद्यालय गेरुकाटोल, वडा नं. ४ मा रहेको शंकरसिंह चन्द्रावती प्राथमिक विद्यालय गढाटोल र वडा नं. १ मा रहेको जनता प्राथमिक विद्यालय रतनपुर उरालोले इ–हाजिरी चालू गर्न अटेरी गरेका हुन् ।

बडकुर्वाका प्रधानाध्यापक सरोज सिंह, गेरुकाटोलका प्रधानाध्यापक मोहन साह, गढाटोलकी प्रधानाध्यापक सुशीला सिंह र रतनपुरका प्रधानाध्यापक राम रायले विद्यालयमा इ–हाजिरी राख्न नमानेका गाउँपालिका कार्यालयले जनाएको छ ।

आम नागरिकबाट विद्यालयहरु समयमा नखुल्ने, शिक्षक तथा कर्मचारी पूरा समयसम्म विद्यालयमा नबस्नेजस्ता गुनासो व्यापक मात्रामा आउन थालेपछि चन्द्रनगर गाउँपालिकाले प्रत्येक विद्यालयमा इ–हाजिरीको व्यवस्था गरेको हो । तर, पटक–पटक प्राविधिक पठाउँदा समेत चारवटा विद्यालयका प्रधानाध्यापकले भने अनेक बहानाबाजी गर्दै इ–हाजिरी चालू गर्न मानिरहेका छैनन् । अटेरी गर्ने प्रधानाध्यापक शिक्षक नेताहरु हुन् ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई पूर्ण समय कार्यालयमै राख्नका लागि इ–हाजिरीको व्यवस्था गरिएको बताए । “विद्यालय समयमा नखुल्ने र टिफिनपछि शिक्षक नबस्दा विद्यालय बन्द हुने गरेको गुनासो व्यापक मात्रामा आयो, त्यसपछि हामीले उहाँहरुलाई मौखिक रुपमा सम्झायौँ तर मान्नुभएन, “गाउँपालिका अध्यक्ष महतोले भने, “ त्यसपछि बाध्य भएर इ–हाजिरीको अवधारणा ल्याएका हौँ, जनताको करबाट तलब र अन्य सेवा सुविधा लिने जनप्रतिनिधि, कर्मचारी र शिक्षक पूर्ण समय कार्यालयमा बसेर काम गर्नुपर्छ ।”

महतोले गाउँपालिकाको निर्णयअनुसार इ–हाजिरी प्रयोग गर्न अस्वीकार गर्ने विद्यालयलाई कारवाही गर्ने चेतावनी दिए । १८ वटा विद्यालयमा प्राविधिक पठाएर इ–हाजिर जडान हुनासाथ चालू गरिए पनि चारवटा विद्यालयमा पठाइएको इ–हाजिर मेसिन भने प्रयोगविहीन बनाएर गाउँपालिकाको निर्णयलाई नै नमान्ने काम भएको अध्यक्ष महतोको भनाई छ ।

श्रीराम जनता निम्न माध्यमिक बडकुर्वाका प्रधानाध्यापक सरोज सिंहले विद्यालयमा इ–हाजिर जडान भए पनि प्रयोगमा नल्याएको स्वीकार गरेका छन् । उनले इ–हाजिरी चलाउँदा उठ्ने विद्युत् महशुल बुझाउन विद्यालयसँग कुनै आयस्रोत नरहेकाले प्रयोगमा नल्याएको तर्क गरेका छन् ।

वडा नं. १ मा रहेको जनता प्राथमिक विद्यालय रतनपुर उरालो ।

 

नेपाल शिक्षक महासंघको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष समेत रहेका सिंहसहित इ–हाजिर जडान नगर्ने चारवटै विद्यालयका प्रधानाध्यापकको एउटै स्वर छ । “हामी इ–हाजिरी जोड्ने तयार छौँ तर विद्यालयको कुनै आयस्रोत नभएकाले बिजुली महसुल गाउँपालिकाले तिरिदिनुपर्छ,” सिंहले भने ।

सिंहले विद्यालयको आफ्नै विद्युत् मिटर नरहेकाले बिजुलीको तारमा हुक लगाए विद्युत् प्रयोग गर्दै आइरहेको बताए । प्रधानाध्यापकसँग सल्लाह नगरी इ–हाजिरीको अवधारणा ल्याएको भन्दै सिंहको नेतृत्वमा नेपाल शिक्षक महासङ्घमा पदाधिकारी केही दिनअघि विभिन्न माग राख्दै गाउँपालिका कार्यालयमा स्मरण–पत्र बुझाउन पुगेका थिए ।

जनता प्रा.वि. रतनपुरका प्रधानाध्यापक राम रायले पनि विद्युत् नभएकै कारण विद्यालयमा इ–हाजिरी मेसिन जडान नगरेको दावी गरेका छन् । जनज्योति प्रा.वि. का प्रधानाध्यापक मोहन साह र शंकरसिंह चन्दावती प्रा.वि. की प्रधानाध्यापक सुशीला सिंहको पनि एउटै स्वर रहेको छ ।

विद्युत् नभएर इ–हाजिरी मेसिन सञ्चालन नगरिएको भनिएको यि विद्यालयमा पंखालगायत अन्य विद्युतीय उपकरण भने चलाउने गरिएको छ । विद्यालयका शिक्षकले हाजिर रजिष्टरमै हाजिर गरिरहेका छन् ।

इ–हाजिर जडान गरेर सञ्चालनमा ल्याइसकेको चन्द्रनगर गाउँपालिका–२ स्थित दुर्गा खोभारी जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक राजदेव यादवले इ–हाजिरी राखेपछि शिक्षकको निगरानी गर्न निकै मद्धत पुगेको बताए । “अब शिक्षकलाई यतिबेला आउनु र उतिबेला जानु भनिरहनु नै परेन, सबै रेडर्क यही मेसिनमा हुन्छ,” प्रधानाध्यापक यादवले भने “शिक्षामा सुधार गर्ने गाउँपालिकाको यो अभियानलाई मैले सकारात्मक रुपमा लिएको छु ।”

चन्द्रनगर गाउँपालिकाले विद्यालयपछि अब वडा कार्यालयसहित गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयमा इ–हाजिरी जडान गरेर सेवालाई प्रभावकारी र जनमैत्री बनाउने जनाएको छ ।