प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तान । (तस्बीर : उज्यालो अभियान)
बागमती – सर्लाहीको बागमतीमा आयोजित सातौँ राजर्षि जनक कप फुटबलको उपाधिका लागि भोली (आइतबार) मच्छिन्द्र फुटबल क्लब र जावलाखेल यूथ क्लबले खेल्दै छन् ।
गत वर्षको शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियनसमेत रहेको मच्छिन्द्र र ए डिभिजनकै अर्को क्लब जावलाखेलबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुन लागेको हो । फाइनल खेल अघि आज (शनिबार) आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षकले उपाधि रक्षा गर्ने गरी खेल्ने दावी गरेका छन् ।
गत वर्ष पिप्ले युवा क्लब हेटौँडासँग पराजित हुँदै उपबिजेतामा सिमित हुन पुगेको मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले यो पटक अनुभवी खेलाडीले भरिएको आफ्नो टिमले भोली उपाधि जित्ने गरी खेल्ने बताए । मच्छिन्द्रमा राष्ट्रिय टिमबाट खेल्ने विमल घर्ती मगर, सुजल श्रेष्ठ, देवेन्द्र तामाङजस्ता चर्चित खेलाडीहरु छन् ।
जावलाखेलका प्रशिक्षक सुनिल श्रेष्ठले युवा खेलाडीले भरिपूर्ण आफ्नो टिमले एकपछि अर्को खेलमा सुधार गरेकाले भोली उत्कृष्ट खेल पस्कदै उपाधिमाथि कब्जा जमाउने दावी गरे । मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ र जावलाखेलका कप्तान सिमान्त थापाले यो वर्षको पहिलो क्याप उचाल्ने गरी मैदानमा उत्रने बताएका छन् ।
मच्छिन्द्र र जावलाखेल दुवै टिमले यो वर्ष मोफसलमा भएका कुनै पनि प्रतियोगितामा उपाधि उचाल्न सकेका छैनन् । भोली सातौँ राजर्षि जनक कपको उपाधि जस्ले जित्छ उसका लागि मोफसलको पहिलो र राजर्षि जनक कपमा समेत पहिलो उपाधि हुनेछ ।
यो वर्ष ए डिभिजनमा समेत आगामी फागुन २१ गते मच्छिन्द्र र जावलाखेल भिड्दै छन् । प्रतियोगिताको फाइनल खेल भोली दिउँसो ३ बजेपछि बागमतीस्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने छ ।
प्रतियोगिताको बिजेताले १० लाख रुपियाँ नगदसहित ट्रफी उचाल्ने छ । यस्तै, उपबिजेताले पाँच लाख रुपियाँ नगद प्राप्त गर्ने छ ।
त्यसैगरी, आयोजक बागमती युवा क्लबका एक जना उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, प्रतियोगिताभरका एक सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदसहित पुरस्कृत गरिने क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।
प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तान । (तस्बीर : उज्यालो अभियान)