लक्ष्मण यादव, बरहथवा – सर्लाहीको बरहथवा नगरपालिकाभित्र ८४ हजार भन्दा बढीलाई फागुन ११ गतेदेखि हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।
नगरपालिकाको सभाहलमा राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम–२०७९ आम औषधि सेवन अभियान अन्तर्गत बुधबार आयोजित स्थानीय तह स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा नगरभित्र ८४ हजार जनालाई औषधि खुवाउने लक्ष्य राखिएको जानकारी गराइएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यनारायण यादवले फागुन ११ देखि १८ वटै वडामा एकैसाथ औषधि खुवाउन सुरु गरिने जानकारी दिए ।
यादवका अनुसार टोल बस्ती तथा विद्यालयहरुमा पुगेर एकजना स्वास्थ्यकर्मी र एकजना स्वयंसेवक गरी दुईजनाले एकदिनमा दुई सय जनालाई औषधि खुवाउने छन् । दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती, सातदिनसम्मका सुत्केरी, छारे रोगी र पहिलेदेखि आम औषधि सेवन गर्दा गम्भीर समस्या नदेखिएका व्यक्तिहरु तथा सिकिस्त बिरामीले हात्तिपाइलेको औषधि खानु हुँदैन् ।
नत्र, अन्य व्यक्तिले औषधि सेवन गर्नुपर्ने स्वास्थ्य शाखाका सहसंयोजक विष्णु प्रसाद श्रेष्ठले बताए । स्वास्थ्य शाखा प्रमुख सत्यनारायण यादवको अध्यक्षतामा आयोजित गोष्ठीमा विभिन्न स्वास्थ्य चौकीका इन्चार्ज, प्रधानाध्यापक, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
बरहथवासहित जिल्लाको २० वटै पालिकामा फागुन ११ गतेदेखि हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।