logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चर्च ब्वाइजलाई हराउँदै सुदूरपश्चिम–११ सेमिफाइनलमा


  • उज्यालो अभियान

सन्जु कर्ण/उज्यालो अभियान, बागमती – चर्च ब्वाइज क्लब ललितपुरलाई सर्डन डेथमा स्तब्ध पार्दै सुदूरपश्चिम–११ धनगढी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सर्लाहीको बागमतीस्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न प्रतियोगिताको दोस्रो क्वाटरफाइल खेलमा ए डिभिजनको नवप्रवेशी चर्च ब्वाइजलाई सर्डन डेथमा ७–६ गोलले पराजित गर्दै मोफसलको चर्चित क्लब सुदूरपश्चिम–११ अन्तिम चारमा प्रवेश गरेको हो । खेलको निर्धारित र अतिरिक्त २० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेलको नजिता ट्राइब्रेकरबाट निकालिएको हो ।

टाइबे्रकरमा बिजेता सुदूरपश्चिम–११ का लागि फागुराम थारु, ओमप्रकाश चौधरी, माइकल शाही, सुनिल श्रेष्ठ, माधव भण्डारी, राहुल खोखार र गगनदीप सिंहले गोल गरे । दीपेन्द्र मलासीले भने क्रसबार बाहिर प्रहार गरे ।

चर्च ब्वाइजका लागि सुवास गुरुङ, अनाश मगर, मौसम सुब्बा, आशिष चौधरी, प्रशान्त लाक्सम र मनिषकुमार जर्गाले मात्रै गोल गरे । उसका आशिष चापागाईले प्रहार गरेको बल सुदूरपश्चिम–११ का गोलरक्षक आकाश बुढाले रोक्न सफल भए भने सविन खड्काले क्रसबार भन्दा बाहिर प्रहार गरे ।

सोमबारको खेलमा सूदुरपश्चिम–११ का गगनदीप सिंहले म्यान अफ दी म्याच बन्दै नगद १० हजार रुपियाँ प्राप्त गरेका छन् । यसअघि आइतबार पहिलो क्वाटरफाइनल खेलमा साबिक बिजेता पिप्ले युवा क्लब हेटौंडालाई ३–२ गोलले हराउँदै जावलाखेल यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल मंगलबार नव जनजागृति युवा क्लब सिमरा र सङ्कटा क्लब काठमाडौँबीच हुने छ । सिमरा पहिलो खेलमा विभागिय क्लब नेपाल पुलिसलाई पराजित गरी र सङ्कटा बाइ पाएर सोझै क्वाटरफाइनलमा आइपुगेका हुन् ।

मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितामा आयोजक बागमती युवा क्लब सहित १२ वटा टिमले भाग लिएका छन् । जसमध्ये एपीएफ क्लब, युनाईटेड खर्साङ फूटबल क्लब दार्जिलिङ, साविक विजेता पिप्ले युवा क्लब हेटौंडा, नेपाल पुलिस क्लब, धरान फूटबल क्लब र चर्च ब्वाइज क्लब ललितपुर प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छ । बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजना रहेको प्रतियोगिताको फाइनल खेल फागुन ७ गते हुनेछ ।