बागमती – सर्लाहीको बागमतीमा जारी ७ औँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा सुदूरपश्चिम–११ धनगढीसँग बिहीबार २–१ गोलले पराजित हुँदै पाहुना टोली भारतको युनाइटेड खर्साङ क्लब दार्जिनिङ प्रतियोगिताबाटै बाहिरिएको छ ।
स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको खेलमा सुरुवाती गोल गरे पनि अग्रता कायम राख्न नसक्दा पाहुना टोली दार्जिलिङ पहिलो खेलमै पराजित भइ घर फर्किन बाध्य भयो । खेलको ३८ औँ मिनेटमा दार्जिलिङका नयन प्रधानले गोल गर्दै अग्रता दिलाए । तर, त्यसको दुई मिनेटपछि नै सुुदूरपश्चिम–११ का भरत टमाटाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
खेलको निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट थप गोल हुन सकेन । त्यसपछि २० मिनेट अतिरिक्त समय थप गरियो ।
अतिरिक्त समयको ७ मिनेटमा सूदुरपश्चिम–११ ले डिबक्स नजिकैबाट पाएको फ्रिकिकलाई सदूपयोग गर्दै उसका फागुराम थारुले उत्कृष्ट गोल गर्दै टिमलाई २–१ को अग्रतामा पु¥याए । थारुको त्यही गोल जितका लागि पर्याप्त बन्यो ।
बिहीबारको खेलमा टिमलाई दोस्रो गोल गरेर विजयी गराउन सफल थारु नै म्यान अफ दी म्याच बन्दै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमबाट पटक–पटक भएका प्रहार बिफल हुन पुग्यो ।
प्रतियोगितामा शुक्रबार विभागीय क्लब नेपाल पुसिल क्लब र जनजागृति फुटबल क्लब सीमरा, बाराले खेल्ने छन् । यसअघि बुधबार भएको उद्घाटन खेलमा जावलाखेल यूथ क्लब ललितपुरले अर्को विभागीय क्लब सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० गोलले पराजित गरेको थियो ।
बागमती युवा क्लब र बागमती नगरपालिकाको नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा जारी यस प्रतियोगिताको बिजेताले रनिङशिल्डसहित नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।