logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

राजर्षि जनक कप : एपीएफमाथि जावलाखेलको कठीन जित


  • उज्यालो अभियान

बागमती – जावलाखेल यूथ क्लबले सर्लाहीको बागमतीमा बुधबारबाट सुरु भएको सातौँ राजर्षि जनक कप फुटबलमा बिजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा विभागिय क्लब एपीएफमाथि १–० गोलको कठीन जित निकाल्दै जावलाखेलले प्रतियोगितामा सुःखद सुरुवात गरेको हो । खेलको ६३ औँ मिनेटमा विनोद के.सी. ले गरेको गोल नै जावलाखेलको जितका लागि निर्णायक बन्यो ।

वैकल्पिक खेलाडी के.सी. ले मैदान प्रवेश गर्ने बित्तिकै हेडमार्फत गोल गरेका हुन् । उनले हिसुब थपलियाले प्रहार गरेको बललाई हेड मार्फत सुन्दर गोल गर्न सफल भए ।

एपीएफले सुरुदेखि नै निकै आक्रमक खेल प्रस्तुत गरे पनि बारम्बार पाएको मौकालाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नुपर्यो । निकै चुस्त खेल प्रस्तुत गरेका जावलाखेलका गोलरक्षक अनिश देउला बुधबारको खेलमा म्यान अफ दी म्याच घोषित भए ।

एपीएफका खेलाडीले बारम्बार प्रहार गरेको बललाई रोक्न सफल भएका देउलाले म्यान अफ दी म्याच बन्दै १० हजार रुपैयाँ हात पारे । खेलको मध्यान्तरसम्म एपीएफसामू निरीह देखिएको जावलाखेलले मध्यान्तरपछि भने खेलमा सुधार ल्याएको थियो ।

प्रतियोगितामा बिहीबार यूनाईटेड किङडम फुटबल क्लब दार्जिलिङ र सूदुरपश्चिम–११ धनगढीबीच खेल हुनेछ । बागमती युवा क्लबको आयोजनामा सुरु भएको यस प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छ ।

यस्तै, प्रत्येक विधाका उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ नगद र आयोजक बागमती युवा क्लबको तर्फबाट उत्कृष्ट खेल खेल्ने एक जना खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने छन् । प्रतियोगितामा बुधबार अपरान्ह उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् ।