logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

साताैं राजर्षि जनक कप भोलीदेखि, बागमती नगरपालिकामा भोली स्थानीय बिदा


  • उज्यालो अभियान

बागमती, माघ २४ – सर्लाहीको बामगतीमा भोली (बुधबार) देखि सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

बागमती नगरपालिका–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित प्रतियोगिताको भोली दिउँसो उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने आयोजक बागमती युवा क्लबले जनाएको छ । क्लबका अध्यक्ष किस्मतराज मैनालीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको उज्यालो अभियानसँग बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा भोली जाउलाखेल यूथ क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीच प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धाका लागि जाउला खेलका खेलाडी चन्द्रनिगाहपुर र सशस्त्र क्लबका खेलाडी हरिवनमा आएर बसिसकेका छन् ।

प्रतियोगितामा आयोजक बागमती युवा क्लब समेत गरी १२ वटा क्लबले सहभागिता जनाउने छन् । जसमा एक विदेशी क्लब समेत रहेको क्लबका अध्यक्ष मैनालीले बताए ।

मैनालीका अनुसार प्रतियोगितामा आयोजक बागमती युवा क्लबसँगै यूनाइटेड किंगडम फुटवल क्लव दार्जेलिङ, संकटा क्लव, नेपाल पुलिस क्लब, एपीएफ क्लब, जावलाखेल यूथ क्लब, चर्च व्वाइज यूनाइटेड, सुदूरपश्चिम–११, मच्छिन्द्र फूटवल क्लब, धरान यूवा क्लव, जन–जागृति युवा क्लब सीमरा र प्रतियोगिताको साबिक बिजेता पिप्ले यूथ क्लब हेटौँडाले सहभागिता जनाउने भएका छन् ।

९८ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको बिजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ । यस्तै, उपबिजेताले पाँच लाख रुपैयाँ हात पार्ने छ ।

हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मैनालीले बताए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने आयोजक बागमती युवा क्बलको एक खेलाडीलाई बागमती राईजीङ अफ दी ईयर प्लेयर्स घोषणा सहित एक थान मोटरसाईकल प्रदान गरिने समेत आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि बागमती नगरपालिकासहित विभिन्न सङ्घसंस्था, उद्योगी व्यापारीसँग सहयोग सङ्कलन गरिरहेको आयोजक क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।

यसैबीच, ७ औँ राजर्षि जनक कप फुटबलको उद्घाटनका अवसरमा भोली (माघ २५ गते) बागमती नगरपालिकाले नगरभित्र स्थानीय बिदा दिएको छ । ‘मधेश प्रदेशको शान राजा जनकप्रतिको सम्मान’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको उद्घाटनका अवसरमा सम्पूर्ण नगरवासीलाई उपस्थितिका लागि निमन्त्रणासहित भोली एक दिन नगरपालिकाभित्र सार्वजनिक बिदा दिइएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलले आज सूचना जारी गरी भोली नगरपालिका, वडा कार्यालय, शैक्षिक संस्थासहित नगरपालिका मातहतका सम्पूर्ण कार्यालयमा बिदा दिइएको उल्लेख गरेका छन् ।