नवलपुर – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुर बजारमा आइतबार साँझ एक जना सुनचाँदी व्यवसायीलाई अपहरण शैलीमा नियन्त्रणमा लिन आएकाे टाेली भारतीय प्रहरी भएकाे सुरक्षा स्राेतले जनाएकाे छ ।
नवलपुरस्थित पूर्व बसपार्कदेखि दक्षिणतर्फ मनकामना सुनचाँदी पसल संचालन गर्ने लालबन्दी नगरपालिका-१, स्थित नवलपुर नै घर भएका गुड्डु साहलाई अपरिचित समूहले अपहरण शैलीमा नियन्त्रण प्रयास भएको थियाे । साँझ ६ बजेतिर नेपाली नम्बर प्लेटकाे स्कर्पियाे चढेर आएका ४ जनाले साहलाई गाडीमा राखेर लैजाने प्रयास गरेका थिए । तर, तत्कालै प्रतिकार गरेर स्थानीयले अपरहरण शैलीमा साहलाई लिन आएकाे टाेली मध्ये एक जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिन सफल भएका छन् ।
ती प्रहरीलाई हाल जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएकाे छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले माथिल्लाे लेबलबाटै अनुसन्धान एवं कुराकानी भईरहेकाे जानकारी दिए ।
भारतकाे पटना स्थित एसएस ज्वेलर्समा २०७८ माघ ७ गते ३५ किलाे सुन र १२ लाख भारतीय रुपैया लुटपाट भएकाे घटनाकाे अनुसन्धानका क्रममा भारतीय सुरक्षा निकायले पटक-पटक सर्लाहीका विभिन्न व्यक्तिहरु उपर नियन्त्रण लिने प्रयास गरिरहेकाे छ । यसअघि वैशाखमा लालबन्दी-२ पुनर्वास निवासी सुन्दर पासवानलाई तथा साताअघि जंगली पासवानलाई पनि भारतीय प्रहरीले गाउँबाटै नियन्त्रणमा लिएर गएर मुद्दा चलाईसकेकाे छ । साहलाई भने के विषयमा भारतीय प्रहरीले नियन्त्रणमा लिन खाेजेकाे हाे, त्याे भने खुल्न सकेकाे छैन । साेमबार बिहान स्थानीय व्यापारीले घटनाकाे विराेधमा नवलपुर स्थित पूर्व-पश्चिम राजमार्गमा चक्काजाम गरेका छन् ।
नेपाल र भारतबीच सुपुर्दुर्गी सन्धी नभएकाले सम्बन्धित देशका सुरक्षाकर्मीले नै नियन्त्रणमा लिएर अर्काे देशका सुरक्षाकर्मीलाई बुझाउन नमिल्ने हुँदा नेपालतर्फका सुरक्षाकर्मीले पनि पटक-पटक भारतीय भूमीबाट विभिन्न मुद्दाका आराेपीलाई नियन्त्रणमा लिएर नेपालतर्फ लिएर आउने गरेकाे एक सुरक्षा अधिकारीले जानकारी दिए ।