शनिबार दिउँसाे देखिएकाे हरिवन-४, गणेशचाेक स्थित माईरानी मिक्चन मावि मतदान स्थल ।

क्षेत्र नंं. १ निर्वाचन अधिकृतकाे कार्यालय लालबन्दीमा मतगणनाका लागि तारजाली सहितकाे तयारी । (तस्बिर : उज्यालाे अभियान)
हरिवन – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सर्लाहीमा सम्पुर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय मलंगवाले जनाएको छ ।
निर्वाचन अन्तर्गत आईतवार हुने मतदानका लागि घेराबेरा लगायत अन्य तयारीका कामहरु सबै मतदान स्थलमा भईसकेकाे सर्लाहीका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले जानकारी दिए । ४ प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा खटाईएका कर्मचारीहरु र सुरक्षाकर्मीले मतदान स्थल तयार पार्ने र राजनैतिक दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवारका प्रतिनिधि सगँ सर्वपक्षिय बैठक गर्ने काम समेत सम्पन्न भएको न्याैपानेकाे भनाई छ ।

हरिवन-८, पुरानाेबजार स्थित महादेव जनता मावि मतदान स्थलमा शनिबार दिउँसाे तयारी गर्दै कर्मचारीहरु ।(तस्बिर : उज्यालाे अभियान)
अधिकांश मतदान स्थलमा शुक्रवार तथा बाँकी मतदान स्थलमा शनिबार साँझसम्म सम्म तयारीकाे काम पूर्ण रूपमा सम्पन्न भएकाे मुख्य निर्वाचन अधिकृत न्याैपानेले जानकारी दिए । निर्वाचन अधिकृतकाे कार्यालयहरुमा सीसीटिभी जडान गर्ने र तारजाली हालेर मतगणना स्थल समेत तयार भईसकेकाे छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले जिल्लाकाे शान्ति सुरक्षाकाे अवस्था अत्यन्त सुदृढ रहेकाे दाबी गरेका छन् । सुरक्षा दृष्टिकोणले जिल्लाका सम्पुर्ण मतदान स्थललाई बर्गिकरण गरेर सुरक्षा ब्यवस्था कडा पारिएकाे उनकाे दाबी छ ।
सर्लाहीका ३ सय १२ मतदान स्थलमा ६ सय मतदान केन्द्रहरुमा मतदानकाे व्यवस्था मिलाईएकाे छ । २० वटा पालिका रहेको सर्लाहीमा ४ लाख ७९ हजार ३८ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यलय सर्लाहीले जनाएको छ । आईतवार हुने निर्वाचनको लागि जिल्लामा प्रतिनिधि सभाको लागि ६९ जना र प्रदेश सभाको लागि १ सय ३३ जना चुनावी दौडमा छन् ।