मलंगवा – नेपाली कांग्रेस सर्लाहीले जिल्ला स्तरीय तथा ४ वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले विज्ञप्ती जारी गर्दै जिल्ला उपसभापति डा. सरोज कुमारको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति र सो समिति अन्तर्गत ४ वटै क्षेत्रमा क्षेत्रीय निर्वाचन परिचालन समिति गठन गरिएको जानकारी दिएका हुन् । मंसिर ४ को प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठवन्धनको उम्मेदवारलाई जिताउने गरी परिचालन हुन सबै क्षेत्रमा समिति गठन गरिएको हो ।
जस अन्तर्गत क्षेत्र नं. १ मा इन्द्रबहादुर योन्जन, क्षेत्र नं. २ मा मनोज यादव, क्षेत्र नं. ३ मा नवीनप्रसाद अधिकारी र क्षेत्र नं. ४ मा सुनिल कुशवाहा संयोजक रहने गरी क्षेत्रीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । स्थानीय तह निर्वाचनमा पाएको सफलता अनुसार कांग्रेसले प्रतिनिधि र प्रदेश सभामा टिकट नपाएको भन्दै कांग्रेस सर्लाहीमा व्यापक असन्तुष्टि छ ।
त्यस्तै, केही पार्टी नेताहरुको हठका कारण क्षेत्र नं. १ मा गठवन्धनभित्र पार्टीले टिकट नै नपाएको र ४ नम्वर क्षेत्रमा पार्टीकै बागी उम्मेदवार खडा भएको चर्चा हुने गरेको छ ।