स्कारपियोले ठक्कर दिएर लडेको मोटरसाइकल । (तस्बीर : उज्यालो अभियान)
संग्रामपुर – सर्लाहीको ब्रम्हपुरीमा आइतबार एक जनाको मृत्यु हुने गरी दुर्घटना गराएर फरार भएको स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटना गराएर भागेको भारतीय नम्वर प्लेटको बीआर ३० पी ९०८२ नम्वरको स्पकारपियो ब्रम्हपुरी गाउँपालिका-३, भेल्हीमा आइतबार राति ११ बजेतिर फेला परेको हो । सो स्कारपियो राति नै जिल्ला प्रहरी कार्यालय मलंगवामा लगेर राखिएको छ ।
स्कारपियोका चालक भने अझै फरार रहेका र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डीएसपी विजय श्रेष्ठले जानकारी दिए । दक्षिणी भेगस्थित भारतीय सीमा नजिकै पर्ने पूर्व–पश्चिम हुलाकी सडकको सखुअवा र भेल्हीको बीचमा स्कारपियोले ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सीतामढीका २२ वर्षीय नेक महम्मदको ज्यान गएको थियो ।
उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार मलंगवा नगरपालिका-९, का १२ वर्षीय असलम सफीको भने जनकपुरमा उपचार चलिरहेको छ ।
सो स्कारपियो सर्लाही क्षेत्र नं. २ मा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवको चुनावी प्रचारप्रसारमा हिँडेको पुष्टी भएको छ । प्रहरीले यस घटनाका सम्वन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।