सर्लाही सदरमुकाम मलंगवादेखि पूर्व रहेकाे झिम खाेलामा छठ पूजाका लागि तयार पारिएकाे सजियाघाट । (तस्बिर : सुनिल ठाकुर)
हरिवन – सर्लाहीमा छठ पूजाको भव्य तयारी गरिएको छ ।
आईतबार साँझ छठ पूजा गर्न जिल्लाको नहर, पोखरी, नदी लगायतका जलाशय श्रृङ्गारेर चिटिक्क पारिएको छ । प्रत्येक बस्तीमा पवित्र पर्व छठको रौनक रहेको स्थानीयले बताएका छन् ।
सदरमुकाम मलंगवासहित लालबन्दी, हरिवन, बागमती, ईश्वरपुर, गोडैता, हरिपूर्वा, बलरा लगायत २० वटै पालिकाका जलाशयमा छठ पूजाका लागि सजियाघाट तयार पारिएको छ । आईतबार अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउन ब्रतालुले नजिकैको जलाशयमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । साेमबार उदाउदाे सूर्यलाई अर्घ्य चढाएपछि छठ पर्व सकिन्छ ।
जिल्लाका प्रत्येक बस्ती छठको गीतले गुञ्जयमान बनेका छन् । परिवारका स-साना सदस्यदेखि सबैजना छठ पूजाको तयारीमा जुटेका छन् ।
पछिल्ला वर्षहरुमा जिल्लामा सबै समुदाय मिलेर सामूहिक रुपमा छठ पर्व मनाउने गरेका छन् । जिल्लाको दक्षिणी भेगमा मात्रै मनाइने यो पर्व केही वर्षदेखि भने उत्तरी भेगमा पनि हर्षोउल्लासपूर्वक मनाउन थालिएको हो ।