भक्तिपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुर तिनघरियामा आयोजित अप्सरा आचार्य दोस्रो मेमोरियल कप फुटबल प्रतियोगिताको उपाधि ईश्वरपुर ९ रामनगरले जितेको छ ।
सोमबार साँझ सम्पन्न फाइनल खेलमा वडा नं. ४ सागरनाथलाई २–० गोलले पराजित गर्दै रामनगर च्याम्पियन बनेको हो । रामनगरको जितमा भरत चौधरी र रोहित चौधरीले गोल गरेका छन् ।
जितसँगै रामनगरले एक लाख नगद पुरस्कारसहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । दोस्रो भएको सागरनाथले भने ५० हजार रुपियाँमा चित्त बुझाएको छ ।
ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार आचार्यले व्यक्तिगत सहयोग गरी आफ्नी स्वर्गिय आमा अप्सरा आचार्यको स्मृतिमा मनकामना युवा क्लब तिनघरियासँग समन्वय गरेर यो प्रतियोगिता आयोजना गरेका हुन् ।
दशैँ अघि नै आयोजित यस प्रतियोगिताको सेमिफाइनल खेलमा विवाद भएपछि गएको असोज १६ गतेदेखि प्रतियोगिता नै रोकिएको थियो । आइतबार सेमिफाइनलका दुवै खेल गराई सोमबार फाइनल प्रतिस्पर्धा गराइएको हो ।