चन्द्रनगर – सर्लाहीको क्षेत्र नं. १ (क) मा सत्ता गठवन्धनको उम्मेदवार रामचन्द्र सिंह कुशवाहा की उपेन्द्र महतो भन्नेमा अन्यौलता देखिएको छ ।
क्षेत्र नंं. १ को (क) बाट माओवादी केन्द्रका रामचन्द्र सिंह कुशवाहा र लोसपाका उपेन्द्र महतोको उम्मेदवारी परेको छ । उनीहरु दुवैलाई पार्टीले टिकट पनि दिएका छन् । सत्ता गठवन्धनमा क्षेत्र नं. १ को (क) मा माओवादीका सिंह र लोसपाका महतोले टिकट ल्याएर उम्मेदवारी दिएकाले दुई जनामा को आधिकारिक उम्मेदवार भन्ने अन्यौलता सिर्जना भएको हो ।
असोज २३ गते उम्मेदवारी दर्ता गराउन जाँदा कुशवाहा प्रतिनिधि सभा सदस्यतर्फ एमालेका ‘बागी’ उम्मेदवार मानबहादुर खड्का र १ (ख) का माओवादीका ‘बागी’ उम्मेदवार राजनकुमार श्रेष्ठसँगै उम्मेदवारी दर्ता गराउन पुगेका थिए भने उपेन्द्र महतो सत्ता गठवन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार लोसपाका रामप्रकाश चौधरी र क्षेत्र नं. १ (ख) का उम्मेदवार नेकपा (एकीकृत समाजवादी) की बेची लुंगेलीसँगै उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।
माओवादी केन्द्र लालबन्दीका नगर कमिटी अध्यक्ष लेखराम जर्गा मगरले कुशवाहा र महतो दुवै जनाले आ-आफ्नो पार्टीबाट टिकट ल्याएर उम्मेदवारी दिएकाले दुई जनामा को आधिकारिक उम्मेदवार हो ? भन्ने आफूहरुलाई पनि अन्यौल भइरहेको बताए । जर्गा मगरले १ को (ख) मा भने गठवन्धनको उम्मेदवार बेची लुंगेली नै रहेको बताए ।