मानबहादुर खड्का (दायाँ) र राजनकुमार श्रेष्ठ (बायाँ) । तस्बिर : उज्यालो अभियान


लालबन्दी – सर्लाहीको क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका मानबहादुर खड्का र क्षेत्र नं. १ (ख) मा प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका राजनकुमार श्रेष्ठले आफूहरु उम्मेदवारी दर्ताको मितिदेखि नै कुनै पनि पार्टीमा नरहेको घोषणा गरेका छन् ।
उनीहरु दुवैले बिहीबार दिउँसो लालबन्दीमा संयुक्त पत्रकार सम्मेलन गरी हाल कुनै पार्टीमा आवद्ध नरहेको घोषणा गरेका हुन् । एमालेका नेता खड्का लालबन्दी नगरपालिकाको निवर्तमान मेयर र माओवादी केन्द्रका नेता श्रेष्ठ लालबन्दी नगरपालिका ८ को निवर्तमान वडाध्यक्ष हुन् ।
पार्टीले टिकट नदिएपछि उनीहरु दुवैले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन अधिकृतको कार्यालयले बुधबार मात्रै खड्कालाई ‘पुतली’ र श्रेष्ठलाई ‘जेब्रा’ चुनाव चिन्ह दिइसकेको छ ।
पाँच दलिय गठवन्धन र एमाले–जसपा गठवन्धनमा आफ्नो दलले टिकट नपाएपछि रुष्ट बनेका कांग्रेस, एमाले र माओवादीका नेताको साथ र भरोसा पाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका खड्का र श्रेष्ठले आफूहरु दुवै अहिले विशुद्ध स्वतन्त्र रहेको घोषणा गरेका छन् ।
सर्लाही क्षेत्र नं. १ को प्रतिनिधि सभामा ५ दलिय गठवन्धनबाट लोसपाका रामप्रकाश चौधरी र एमाले–जसपा गठवन्धनबाट प्रमोद साहले टिकट पाएका छन् । यस्तै, प्रदेश सभा तर्फ क्षेत्र नं. १ (ख) मा ५ दलिय गठवन्धनबाट बेची लुंगेली र एमाले–जसपा गठवन्धनबाट एमालेकी शान्तिकुमारी लामाले टिकट पाएकी छन् ।
खड्कालाई प्रतिनिधि सभा सदस्यमा र श्रेष्ठलाई प्रदेश सभामा उठाउन कांग्रेस, एमाले र माओवादीका नेताहरुको भित्री साथ यथावत छ । खड्का र श्रेष्ठले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्तीमा सबैको साथ र मायाले माथिल्लो कमिटीमा नाम सिफारिस भई गएता पनि स्थानीय जनताको साथ, समर्थन र इच्छा विपरीत माथिल्लो तहबाट केही शिर्ष नेताहरुको आफ्नो निजी स्वार्थका लागि गठवन्धनको नाममा जवरजस्ती गरी स्थानीय मतदाताको भावना विपरीतको उम्मेदवार बनाएको आरोप लगाइएको छ ।
उनीहरुको पत्रकार सम्मेलनमा नेकपा एमालेका नेता गोविन्द अधिकारी, माओवादी केन्द्रका नेता केदार काफ्लेलगायत एमाले र माओवादीका अन्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । खड्का र श्रेष्ठ सँगसँगै क्षेत्र नं. १ (क) मा माओवादी केन्द्रका रामचन्द्र सिंह कुशवाहा पनि उम्मेदवारी दर्ता गराउन पुगेका थिए । कुशवाहा भने खड्का र श्रेष्ठले गरेको बिहीबार गरेको पत्रकार सम्मेलनमा देखिएनन् ।
कुशवाहालाई माओवादीले टिकट नै दिएको छ । ५ दलिय गठवन्धनमा लोसपा रहेको र १ (क) मा लोसपाका उपेन्द्र महतोले पनि टिकट पाएकाले ५ दलिय गठवन्धनको उम्मेदवार रामचन्द्र कि उपेन्द्र भन्ने अन्यौल भइरहेको छ ।