नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव (बायाँ) र लोसपाका नेता राजेन्द्र महतो । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – मधेश प्रदेशका दुई चर्चित नेता राजेन्द्र महतो र महिन्द्र राय यादव फेरि यो पटकको निर्वाचनमा आमनेसामने भएका छन् ।
एउटै सत्ता गठबन्धनमै भएपनि मित्रवत प्रतिष्पर्धा गर्ने गरी दुईजना पुनः दोस्रो पटक चुनावी मैदानमा आमने सामने भएका हुन् । सर्लाहीको क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) बाट महतोले तथा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट यादवले आईतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय मलंगवामा उम्मेद्वारी दिएका छन् । आफ्नो पार्टी नेपाल समाजवादी पार्टी भए पनि यादवले माओवादीसँगको सहमती अनुसार उसैको चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गराएका हुन् ।
मधेशका यि दुई शिर्ष एवं चर्चित नेताबीच प्रतिस्पर्धा हुने भएपछि सर्लाही क्षेत्र नं. २ लाई निकै चासोका साथ हेर्न थालिएको छ । किनकी उनीहरु दुईजना धेरै पटक एउटै पार्टीमा सहयात्री भएर काम गर्ने अनि अनेकौं पटक फुट्ने मात्र हैन, एक आपसमा लड्ने (निर्वाचन) समेत गरेका छन् । यसअघि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा त करिब करिब सोही क्षेत्रहरु पर्ने तत्कालिन २ नम्बर क्षेत्रमै एक आपसमा चुनावी मैदानमा उत्रदा बाजी मारेका यादवसँग महतोले दोस्रो पटक पुनः भिड्ने उम्मेद्वारीले पक्का गरेका छन् ।
२०७० सालमा तत्कालिन तराई मधेस सद्भावना पार्टीका अध्यक्ष यादवले तत्कालिन सद्भावना पार्टीका अध्यक्ष महतोलाई पराजित गरेका थिए । यादव २०७४ मा पनि यादव सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । महतो २०७४ सालमा भने धनुषा ३ बाट निर्वाचित हुँदा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीलाई पराजित गर्न सफल भएका थिए । यसपटक धनुषा ३ मा नेकपा एमाले नेतृ जुली महतो आफै उम्मेद्वार बन्ने भएपछि महतो आफ्नो पुरानै मैदानमा फर्किएका हुन् । गत निर्वाचनमा जुलीले सहयोग गरेकै कारण निधीलाई हराएका महतो यसपटक उक्त क्षेत्र असुरक्षित देखेपछि पूरानै मैदानमा फर्किएको एक नेताले दाबी गरे ।
त्यहाँ विपक्षी गठबन्धनबाट भने नेकपा एमालेका जिल्ला अध्यक्ष राजनारायण साहले प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएका छन् । साहले २०७० सालको संविधान सभा निर्वाचनमा समेत एमालेबाटै संविधान सभा सदस्यका लागि उम्मेद्वारी दिएका थिए ।