logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी १६ लाई दोस्रो पटक वडाध्यक्ष कपको उपाधि


  • उज्यालो अभियान

परवानिपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानिपुरले दोस्रो पटक वडाध्यक्ष कप फुटबलको उपाधि हात पारेको छ ।

शनिबार साँझ आफ्नै वडास्थित भोर्लेनी खेल मैदानमा सम्पन्न ५ औँ वडाध्यक्ष कप फुटबलमा वडा नं. ६ लाई २–० गोलले स्तब्ध पार्दै वडा नं. १६ दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि गत वर्ष लालबन्दी १ नवलपुरमा सम्पन्न चौंँथो वडाध्यक्ष कपको उपाधि पनि वडा नं. १६ ले जितेको थियो । यो पटक आफ्नै मैदानमा भएको प्रतियोगिताको उपाधि उसले अन्य वडालाई लान दिएन ।

जितसँगै वडा नं. १६ ले ७० हजार नगद, कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । उपबिजेता वडा नं. ६ ले भने ३५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगिताको बिजेता तथा उपबिजेता र उत्कृष्ट खेलाडीलाई लालबन्दी नगरपालिकाकी उपमेयर कल्पनामाया पाख्रिन, वडाध्यक्ष गणेशबहादुर थापालगायत भएर पुरस्कार वितरण गरेका छन् । प्रतियोगितामा लालबन्दी नगरपालिकाभित्रका १७ वटै वडाले सहभागिता जनाएका थिए ।