logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कालिन्जोरमा प्रदेश पुरुष भलिबल प्रतियोगिता सुरु, सर्लाही र महोत्तरीद्वारा बिजयी सुरुवात


  • उज्यालो अभियान

कालिन्जोर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

कालिन्जोर युवा समूहको आयोजनामा हिजो (बिहीबार) देखि कालिन्जोरस्थित वडा कार्यालय घारिबथानको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले उद्घाटन गरेका छन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतम, प्रहरी प्रमुख (एसपी) प्रवीण पोखरेल, उपमेयर रन्जितादेवी चौधरी, कालिन्जोरका वडाध्यक्ष देविबहादुर खत्री, इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रोशन थापालगायतको आतिथ्यता रहेको थियो । भोली (शनिबार) १५ गते फाइनल खेल हुने यस प्रतियोगितामा पहिलो हुने टिमले १ लाख एक हजार , दोस्रो हुने टिमले ७५ हजार र तेस्रो हुने टिमले २५ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने प्रतियोगिताको आर्थिक समितिका संयोजक भिमबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा आयोजक कालिन्जोरसहित मधेश प्रदेशको आठवटै जिल्लाको भलिबल टिमको सहभागिता छ । प्रतियोगिता अन्तर्गत हिजो (बिहीबार) भएको उद्घाटन खेलमा जिल्ला भलिबल संघ सर्लाहीले जिल्ला भलिबल संघ सिरहालाई र जिल्ला भलिबल संघ महोत्तरीले जिल्ला भलिबल संघ रौतहटलाई समान तीन–शुन्यको सोझो सेटमा पराजित गरेका आयोजक कालिन्जोर युवा समूहका अध्यक्ष सुभाष खड्काले बताए ।

प्रतियोगितामा आज (शुक्रबार) आयोजक कालिन्जोर र धनुषा तथा सप्तरी र महोत्तरीले प्रतिस्पर्धा गर्दै छन् । मधेस प्रदेशकै अग्लो राजारानी थुम्को रहेको कालिन्जोरका युवाहरुले गाउँठाउँलाई देशभर चिनाउने र आम गाउँलेलाई एकतावद्ध पार्ने मुख्य उद्देश्यले पहिलो पटक ग्रामीण भेगमा प्रदेश स्तरको पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेका हुन् ।