logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

उखुको अनुदान रकम आइपुग्यो, असोज पहिलो साताभित्रै किसानको खातामा


  • उज्यालो अभियान

हरिवन – सर्लाहीका चिनी मिलमा उखु बिक्री गरेका किसानका लागि सरकारी अनुदानको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा जम्मा भएको छ ।

सरकारले गत वर्ष सर्लाहीका चिनी मिललाई उखु बेचेका किसानको २२ करोड ९८ लाख रुपैयाँ अनुदान रकम पठाएको कोलेनिका मलंगवाका प्रमुख जीवन पुरीले उज्यालो अभियानसँग बताए । गत वर्ष इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल गरी तीनवटा चिनी उद्योगले १४ हजार ७४३ जना किसानको ३२ लाख ८३ हजार २६८ क्विन्टल उखु क्रसिङ गरेका थिए ।

उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले सरकारी अनुदान रकम प्राप्त भएको छ । बुधबार मात्रै कोलेनिकाको खातामा जम्मा भएको अनुदान रकम असोज ६ गतेसम्म सबै किसानको खातामा पठाइ सक्ने गरी काम भइरहेको पुरीले जानकारी दिए ।

“दुई जना कर्मचारीलाई उखुको अनुदान मात्रै हेर्ने जिम्मा दिएका छौँ, चिनी मिलबाट किसानको नाम, ठेगाना अनि बैङ्क खाता माग्नेक्रम चलिरहेको छ,” कोलेनिका प्रमुख पुरीले उज्यालोसँगको कुराकानीमा भने, “मिलले दिएको नामावली र खाता नम्वर ‘भेरिफाइ’ गरी असोज ६ गतेसम्म सबै किसानको खातामा पैंसा पठाइसक्छौँ ।”

पुरीका अनुसार महालक्ष्मी र अन्नपूर्णले किसानको विवरण उपलब्ध गराइसकेको छ । १० हजार बढी किसानले उखु बेचेका इन्दुशङ्कर चिनी मिलले भने किसानको पूरा विवरण उपलब्ध गराइसकेको छैन् । इन्दुशङ्करले शुक्रबार (आज) बेलुकासम्म किसानको पूर्ण विवरण उपलब्ध गराउने बताएको छ ।

उखुको अनुदान रकम भुक्तानि गर्न बिहीबार दिउँसो मात्रै सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने अनुदान रकम भुक्तानि समितिको बैठक मलंगवामा बसेको छ । उखु कृषकलाई अनुदान दिने सम्वन्धी कार्यविधि २०७५ अनुसार गठित सहायक प्रजिअ संयोजक र कोलेनिका, कृषि ज्ञान केन्द्र र आन्तरिक राजस्व कार्यालयका प्रमुख सदस्य रहने भुक्तानि समितिको बैठकले सबै किसानको बैङ्क खातासहितको विवरण लिएर जतिसक्दो चाँडो अनुदान रकम खातामा जम्मा गरिदिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी एवं भुक्तानि समितिका संयोजक हरिप्रसाद अधिकारीले उज्यालोसँग बताए ।

सरकारले ढिलो गरी भएपनि अनुदान रकम पठाएपछि उखु किसान खुसी भएका छन् । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसान दशैँअघि नै अनुदान रकम पाउने आशमा बसेका बताएका छन् ।