logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

चर्चित नेता डा. अमरेश सिफारिसमै परेनन्, सर्लाही कांग्रेसमा चरम निषेधकाे राजनीति


  • उज्यालो अभियान

सांसद डा. अमरेश कुमार सिंह

-टंक बहादुर क्षेत्री/जनार्जन खत्री
मलंगवा – आगामी मंसिर ४ गते हुने प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर ४ बाट उम्मेद्वारकाे रुपमा बहालवाला संघीय सांसद् डा. अमरेश कुमार सिंहकाे नाम नै सिफारिसमा नपरेपछि अहिले सर्लाही मात्र हैन देशव्यापी कांग्रेसीजनमा खैलाबैला मच्चिएकाे छ ।

कांग्रेस मधेश प्रदेश उपसभापति एवं प्रदेश सरकारका मन्त्री वीरेन्द्रप्रसाद सिंह ।

संस्थापन पक्ष हाबी ४ नम्बर प्रतिनिधि सभा निर्वाचन क्षेत्र कार्यसमितिले साेमबार गरेकाे निर्णयले संस्थापन ईतरका प्रतिनिधि सभा सदस्य डा. सिंहकाे आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि संघिय सांसदकाे उम्मेद्वारमा नाम नै सिफारिस गरेन । बरु संस्थापन ईतरका पार्टी महामन्त्री गगन कुमार थापाकाे एकल नाम पाे जिल्ला कार्य समितिमा सिफारिस गरिएकाे मात्र छैन उल्टै सांसद् डा. सिंहलाई जिल्ला अनुशासन समितिले गत असार २ गते नै निलम्बन गरेकाे पत्र समेत साेमबार नै बाहिर ल्याईएकाे छ । संस्थापन पक्षकै जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह र मधेश प्रदेश उपसभापति एवं मधेश प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्रीकाे क्षेत्र समेत भएकाले सांसद् डा. सिंहलाई आफ्नाे सहज बहुमत रहेकाे संस्थापन पक्षले जिल्ला हुँदै मधेश प्रदेश समितिबाट पनि निषेध गर्ने पक्का छ ।

कांग्रेस सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंह ।

सांसद् डा. सिंह २०७० काे संविधान सभा निर्वाचनमा तत्कालिन तमलाेपा तथा हाल लाेसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र तत्कालिन तमसपाका चर्चित नेता शिवपुजन रायलाई पछाडी पार्दै हालकाे ४ नम्बर क्षेत्रकाे अधिकांश भूगाेल रहेकाे तत्कालिन क्षेत्र नम्बर ६ बाट तथा २०७४ सालकाे प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा समेत गरि लगातार दुई पटक निर्वाचित भएका हुन् । यो पटक पनि संघीय सांसद्काे रुपमा उम्मेद्वारी दिने अन्तिम तयारीमा रहेपनि संस्थापन पक्षकाे निषेधले डा. सिंह अफ्ठ्याराेमा परेका छन् ।

२०७४ काे निर्वाचनसम्म डां सिंहकै वरिपरि रहेका र हरेक प्रतिनिधिसभा निर्वाचनमा उनलाई जिताउन निकै लागि परेका सहाेदर दाजुभाई जिल्ला सभापति सुरेन्द्र र मधेश प्रदेश उपसभापति एवं प्रदेश सरकारका मन्त्री वीरेन्द्रले यसपटक भने पार्टीकाे महाधिवेशनदेखि नै अमरेशप्रति निषेधकाे राजनीति सूरु गरेकाे एक कांग्रेसीले बताए । केही समयअघि सम्पन्न पार्टी महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनमा डा. सिंहलाई महाधिवेशन प्रतिनिधिमा बेमत हार चखाएका सुरेन्द्र-वीरेन्द्र दाजुभाईले प्रतिनिधिसभा सदस्यकाे उम्मेद्वार सिफारिसमा त अमरेश विरुद्द चरम निषेधकाे नीति अपनाएकाे स्पष्ट भएकाे ती कार्यकर्ताकाे भनाई छ ।

कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति रामआश्रय साहले प्रतिनिधिसभा सदस्यका लागि पार्टीका नेता महामन्त्री गगन थापाको नाममात्र सर्वसम्मत सिफारिस गरिएको जानकारी दिए । पार्टी स्राेतका अनुसार उम्मेद्वार सिफारिस गर्न साेमबार बिहान बसेकाे क्षेत्रीय कार्यसमिति बैठकमा मधेश प्रदेशका उपसभाति एवं प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र आफै बसेर निर्णय गराएका हुन् । बैठकमा उपस्थित सबै नेता कार्यकर्ताले महामन्त्री गगन थापाकाे मात्र नाम सिफारिस गर्नुपर्ने माग गरेपछि सोही अनुसार एकल नाम सिफारिस भएकाे मन्त्री सिंह पक्षले दाबी गरेकाे छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्य समितिको सिफारिसमै नपरेका अमरेश भने याे सिफारिसबाट आफूलाई कुनै फरक नपर्ने दाबी गर्छन् । ´दुई चार जना बसेर एकपक्षीय ढंगले नाम सिफारिस गर्दैमा मलाई केही फरक पर्दैन`, सिंहले उज्यालाे अभियानसँग दाबी गरे, ´क्षेत्रभित्रका आम नेता कार्यकर्ता मात्र हैन आम मतदाताकाे चाहना मेरै पक्षमा छ, त्यसैले पार्टी केन्द्रले मलाई नै उम्मेद्वार बनाउनेमा ढुक्क छु ।` जिल्ला सभापति सुरेन्द्रले क्षेत्रीय कार्यसमितिबाट नेता गगन थापाकाे नाम मात्र सिफारिस गरेकाे भन्ने सुनेकाे र आधिकारिक सिफारिस पत्र नआएसम्म आफूले केही भन्न नसक्ने र क्षेत्रीय समितिकाे निर्णयबारे आफूले केही भन्न पनि नमिल्ने जानकारी दिए । यता पूर्व जिल्ला सभापति लक्ष्मण रायले निर्वाचित संघीय सांसदलाई निषेध नै गरेर एकलौटी हिसाबले उम्मेदवार सिफारिस गरेको सुन्दा साह्रै दुःख लागेको गुनासाे गरे ।

निषेधकाे राजनीतिले सर्लाही कांग्रेसमा पतनकाे सुरुवात

संस्थापन पक्षका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह र संस्थापन ईतर संघीय सांसद् डां अमरेश कुमार सिंह पक्षबीच एकले अर्काेलाई सिध्याउने गरि निषेधकाे राजनीति सूरु भएसँगै सर्लाही जिल्लामै कांग्रेस कमजाेर हुन थालेकाे एक कार्यकर्ता गुनासाे गर्छन् । कांग्रेसको बलियो पकट मानिने क्षेत्र नं. ४ मा त भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस बलियाे हुँदाहुदै गाेडैता, बलरा, रामनगर, बसबरिया लगायत पालिकाका प्रमुख र उपप्रमुखमा उसका उम्मेद्वारले लज्जास्पद् हार व्यहाेरे । बलरा र गाेडैता नगरपालिका थप हुनुकाे सट्टा यसअघिकाे स्थानीय निर्वाचनमा कांग्रेसकै पाेल्टामा रहेका रामनगर र बसबरिया गाउँपालिका समेत गुमाउनु पर्याे । नमिठाे हारकाे एकमात्र कारण संस्थापन पक्षका नाममा जिल्ला सभापति सुरेन्द्र र मधेश प्रदेश उपसभापति विरेन्द्रले उम्मेद्वार छनाैटमा गरेकाे एकलाैटी अनि अमरेशप्रतिकाे निषेध नै भएकाे एक कांग्रेस कार्यकर्ता बताउँछन् । ´पार्टीका हरेक कार्यक्रम अनि अवसरमा जिल्ला सभापति सुरेन्द्र र प्रदेश उपसभापति समेत रहेका प्रदेश मन्त्री वीरेन्द्रले अमरेशलाई पत्तासाफ गर्ने हिसाबले निषेध गर्ने गरेका छन्`, एक कांग्रेस कार्यकर्ताले आश्चर्यचकित हुँदै भने, ´उल्टै अमरेशलाई अनुशासनकाे कार्बाही गर्दै निलम्बनकाे पत्र पाे सार्वजनिक गरिएकाे छ ।` डां सिंहलाई निलम्बन गरिएकाे भन्ने सार्वजनिक पत्रमा सबै अक्षरहरु कम्प्युटराईज भएपनि कार्बाही गरिएकाे बैठककाे मिति भने हातैले लेखिएकाे छ ।

विगतका पार्टी महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनमा पनि अमरेश नागेन्द्र कुमार राय पक्षमा हुँदा सुरेन्द्र लक्ष्मण राय पक्षमा त, अमरेश लक्ष्मण रायकाे पक्षमा हुँदा सुरेन्द्र नागेन्द्रकाे पक्षमा खुलेर लाग्ने गरेका थिए । तथापी यतिकाे चरम निषेधकाे व्यवहार दुवै पक्षबाट हुने गरेकाे थिएन । तर भर्खरै सम्पन्न महाधिवेशनबाट भने बलियाे बनेकाे संस्थापन पक्षले संस्थापन ईतरका अमरेशलाई सिध्याउने नै हिसाबले निषेधकाे राजनीति सुरु गरेकाे एक नेता बताउँछन् । संस्थापन ईतरकाे बहुमत भएपनि प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ र २ बाट संस्थापन पक्षका पूर्व आमन्त्रित केन्द्रीय सदस्य शम्भूलाल श्रेष्ठ, पूर्व जिल्ला सभापति नागेन्द्र कुमार राय, जंगिलाल राय लगायतकाे नाम सिफारिस भएकाे छ । यद्यपि ती क्षेत्रहरुमा नम्बरवाईज नाम लेख्ने क्रममा मर्यादाक्रम मिचिएकाे गुनासाे भने बाहिरिएकाे छ । संस्थापन पक्षकै बाहुल्य रहेकाे क्षेत्र नम्बर ३ ले पनि संस्थापन ईतरका नेता विनाेद खनाल, नवीन अधिकारी लगायत नेतालाई सिफारिस गरेकाे छ ।

तर ४ नम्बर क्षेत्रमा भने एकले अर्काेलाई सिध्याउने गरि निषेधकाे राजनीति हुँदा समग्र सर्लाही कांग्रेसभित्रै त्यसकाे ठूलाे असर पुग्ने नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण प्रसाद थपलिया बताउँछन् । ´१२ वटा स्थानीय तहमा जित्याैं भनेर नफुर्के हुन्छ, संस्थापन पक्ष र ईतर पक्षका नाममा हुने निषेधकाे राजनीतिले अन्तत: पार्टी पतनकाे दिशामा जाने निश्चित हाे`, थपलियाले भने, ´घरका सबै मान्छे मरेदेखि ताताे खरानीमा लुटुपुटु गर्थेँ भन्ने बिरालाेकाे चाहना जस्ताे गुट र उपगुटका नाममा निषेधकाे राजनीतिले पार्टी नै बिरालाेकाे हालतमा पुग्ने निश्चित छ, गुट र उपगुटका नाममा यसरी निषेधकाे राजनीतिलाई बढाउँदै लगे स्थानीय तह निर्वाचनमा ४ नम्बर क्षेत्रमा व्यहाेर्नु परेकाे नमिठाे हारकाे स्वाद अब संघीय निर्वाचनमा जिल्लाभरका नेता कार्यकर्ताले चाख्नुपर्ने निश्चित हाे ।`