उज्यालाे अभियान दैनिक/अनलाईनकाे तेस्राे वार्षिकाेत्सवका अवसरमा आईतबार हरिवनकाे सम्राट पार्टी प्यालेसमा आयाेजित कार्यक्रममा उज्यालाे अभियन्ताकाे रुपमा रम्भा झालाई सम्मान पत्र सहित दाेसल्ला ओढाएर अभिनन्दन् गर्दै प्रदेश प्रमुख हरि शंकर मिश्र ।

भारतीय सीमासँग जोडिएको सर्लाहीको ‘कोर मधेश’को ठाउँमा रहेर समाजसेवा, त्यसमा पनि महिला । त्यो सम्भावनाको नाम भनेको रम्भा झा हो भन्दा अतियुक्ती नहोला । महिलाले घरको चार दिवार भित्र मात्रै कैद भएर घुम्टोमा बस्नु पर्छ, भन्ने उनको समाजमा जरो गाडेको प्रचलित मान्यतालाई चिर्दै सर्लाहीको गोडैता नगरपालिका निवासी रम्भा झाले समाजमा बालबालिका, किशोरी, युवती अनि महिला हिंसा विरुद्ध र महिला अधिकारका पक्षमा अनवरत पुर्याउँदै आएको योगदान अतुलनीय छ । दुई छोरा र एक छोरीकी आमा समेत रहेकी झा समाजका हरेक महिलाका लागि प्रेरणाकी श्रोत समेत हुन् ।
छिमेकी जिल्ला रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका–३, मत्सरीमा २०३४ सालमा जन्मे हुर्केर २०५२ सालमा वैवाहिक सम्बन्ध मार्फत रम्भा सर्लाहीको गोडैता निवासी भएकी हुन् । स्थानीय विद्यालयबाट कक्षा १० सम्मको अध्यन प्ुरा गरेकी रम्भाले बिवाह पछि पनी पढाईलाई निरन्तरता दिने प्रयास गरिन् । तर, आईए अर्थात प्रमाणपत्र तह भन्दा अगाडी बढाउन सकिनन् ।
हाम्रो नेपाली समाजमा बिवाह भएर घरजम भएसकेकी महिलाले पुनः पढाईलाई निरन्तता दिने भन्ने कुरा निकै टाढाको कुरा, त्यसमा पनि कोर मधेशमा त ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै हो । जसकारण रम्भाले आफ्नै घरबाट आफ्नो अधिकारको लडाई सुरु गर्नु पर्यो । माईतबाट विवाहमा दहेजको रुपमा दिने भनिएको टिभि नदिएको भन्दै घरमा विभिन्न हिंसाका कुरा सुरु भए । उतले २ बर्ष भन्दा धेरै समय माईत समेत जान पाईनन् ।
त्यसपछी घरमै परिवारका सदस्यलाई संझाउने देखी कानुनी उपचारका कुरामा समेत उनले सचेत गराउनु पर्यो । बालखै देखी हक्कि स्वभावकी उनले आफुमाथि भएको हिंसा सहेर हैन् डटेर सामना गर्ने निधो गरिन् । अन्ततः सफलता पनि मिल्यो । घरका परिवार मध्य सासु आमालाई सम्झाउन सफल भएको उनको अनुभव छ । घरबाट नागरिकता लिन समेत निकै संधर्ष गर्नु परेको रम्भा बताउँछिन् । उनका श्रीमान अहिले पनि गाउँघरमा पण्डित्याई पुरेत्याईं गर्छन् । त्यसबाट पनि परिवारको गुजारामा मद्धत पुगेको छ ।
रम्भाको सामाजिक जीवनमा प्रवेशको ‘टर्निङ प्वाईन्ट’ भने २०५८ सालबाट गाउँमा एक संस्थाले सुरु गरेको प्रौढ शिक्षामा शिक्षिकाको रुपमा काम गर्ने अवसर प्राप्त भएपछि जुर्यो । प्रौढ शिक्षाको शिक्षीका भएपछि रम्भाले गाउँमा महिलाहरुको समुह बनाएर पढाउने देखी महिला अधिकार र कर्तब्यको कुरा समेत सिकाउन थालिन् । बिस्तारै विभिन्न समुह संजाल र संघ संस्था सगँ जोडिएर समेत काम गर्ने मौका मिल्योे ।
यहाँ सम्म आईपुग्दा समाजमा हुने महिला हिंसा लगाएतका घटनाका विरुद्धमा उनी अग्रणी स्थानमा देखिन थालेकी छिन्, त्यो पनि एक्लै । गाउँ घरमा भएका जस्ता सुकै घटनामा सबै काम थाति राखेर जिल्लामा हरेक निकाय धाउने कुरामा उनलाई कहिले थकान भएन । सदरमुकाम मलंगवामा हुने जुनसुकै कार्यक्रम अर्थात अन्य विषयको कार्यक्रममा बोलाईएमा रम्भा उपस्थित हुन्छिन् र महिला हिंसा, बालबिबाह लगायत सवालमा गाउँ समाज अनि राज्यका सम्बन्धित निकायबाट भईरहेको असहयोगका बारेमा बोलि हाल्छिन् । अझ विशेषगरी पत्रकारहरु समक्ष उचित सहयोगको याचना गरिहाल्छिन् रम्भा ।
बाल विवाह, महिला हिंसा लगाएतका घटनाका विरुद्धमा लाग्दा कयौं पटक चुनौतीको सामना गर्नुपरेको ताजा अनुभव लिएर उनी निरन्तर अगाडि बढिरहेकी छिन् । हालसम्म महिला हिंसा, बाल विबाह, किशोरी तथा युवतीलाई आईपरेका पीडाबाट सयौंलाई न्याय दिलाई सकेकी छिन् रम्भाले । त्यसका लागि रम्भाले कति हण्डर खानु पर्यो अनि गाउँ समाजका अगूवाको हक्पी र दप्कीको कति सामना गर्नु पर्यो भन्ने कुरा त ‘अचानालाई खुकुरीको चोट’ भनेजस्तै तपाईहाँमीलाई कसरी महसुस होला र ?
समाजसेवा गरिरहदा आफ्नो परिवारको आवश्यकता पुरा गर्नुपर्ने दावित्व उनमा पनि छ । त्यसका लागि समय मिलाएर विभिन्न संघ संस्थामा जोडिएर उनले काम समेत गरिरहेकी छिन् । समाजमा ब्याप्त बालविबाह, दहेज प्रथा, जसले महिला माथि हुने हिंसा बढाउने गरेकोले यस बिरुद्ध उनी गाउँ–गाउँमा पुगेर महिला, बालिका वा किशोरीहरुलाई समुहमा जम्मा गर्दै अधिकार र कर्तब्य बोध गराउने कुरा आज पनि चलाई रहेकी छिन् ।
हाम्रो जस्तो समाजमा सदियांै देखी जरो गाडेर बसेका विकृती र विसंगती विरुद्ध प्रभावित समुह नै स्वयम संक्षम हुनुपर्छ भन्दै सामाजिक कर्तव्य बोध गराउदै निरन्तर समाज रुपान्तरमा लाग्नु भएकी तपाई श्री रम्भा कुमारी झालाई सम्पुर्ण उज्यालो अभियान परिवारको तर्फबाट सलाम । तपाईं रम्भा झा सर्लाहीलाई उज्यालो पथमा लम्काउने उज्यालो अभियन्ता बन्नु भएकोमा हामी ढुक्क छौं । तपाईको आगामी भविष्यको उत्तरोतर प्रगतीको कामना सहित अमुल्य योगदानको उच्च कदर सहित हामीले उज्यालो अभियान दैनिक÷अनलाईनको तेस्रो वार्षिकोत्सवको अवसरमा २०७९ जेठ १५ गते आईतबार गणतन्त्र दिवसका दिन यो सानो सम्मान पत्र सहित उज्यालो अभियन्ताको रुपमा अभिनन्दन् गर्न पाउँदा गौरवान्वित महसुस गरेका छौं ।
टंक बहादुर क्षेत्री
अध्यक्ष तथा
उज्यालो अभियान मिडिया ग्रुप, सर्लाही परिवार