logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

ट्याक्टरको टेलरमा बालुवाभित्र लुकाएर ओसारिएको सालको २५ फल्ली बरामद्


  • उज्यालो अभियान

प्रहरीले बरामद् गरेको सालका फल्ली ।

लालबन्दी – निर्वाचन माहोलको अवसर पारेर अवैध ढंगले सालको काठ ओसारपसार हुँदै गरेको अवस्थामा प्रहरीले २५ वटा सालको फल्ली बरामद् गरेको छ ।

पत्थरकोट प्रहरी चौकीको टोलीले लालबन्दी नगरपालिका–१३, पत्थरकोटबाट उक्त काठ बरामद् गरेको हो । ज. २ त १९६ नम्वरको ट्याक्टरको टेलरमा बालुवाभित्र लुकाएर ल्याउँदै गरिएको सालको चिरान फल्ली बरामद ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । लालबन्दी नगरपालिका–१४, सत्रकठ्ठाबाट पत्थरकोटतर्फ ल्याउँदै गरिएको काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले जानकारी दिए । उनका अनुसार बालुवामा लुकाएर ल्याइएको १७ क्यूफिट बराबरको २५ थान चिरान फल्ली बरामद भएको हो ।

प्रहरीले काठसहित ट्याक्टरका चालक लालबन्दी नगरपालिका–१२, का ५३ वर्षीय प्रेमबहादुर श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक कार्कीका अनुसार बरामद गरिएको ट्याक्टर, काठ र ट्याक्टर चालकलाई आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय लालबन्दीमा बुझाइएको छ । तस्करहरुले यसरी जिल्लाको पत्थरकोट, परवानिपुर, कालिन्जोर, सागरनाथ, मूर्तिया, जानकीनगर लगायत स्थानका वन क्षेत्रबाट काठ तस्करी गर्दै आइरहेका छन् ।