आईतबार दिउँसो विरुलाई बोकेर भर्ना गराउन आएका वडाध्यक्ष टम बहादुर घिसिङ तथा गोर्खा एकेडेमीका सञ्चालक सुवास घिमिरे एवं शिक्षक तथा कर्मचारीहरु ।

टंक बहादुर क्षेत्री/हरिवन – ‘त्यो के हो ?’, ‘उ त्यो गोलो–गोलो चाँही के हो नि ?’ अनि उ त्यो झण्डा चाँही के को हो नि ?’ आईतबार दिउँसो हरिवन नगरपालिका–८, नारायण चोक स्थित गोर्खा एकेडेमीको कार्यालय कोठामा रहेका विभिन्न सामग्रीहरु देखाउँदै उक्त विद्यालयमा भर्ना गराउन ल्याईएका एक बालक ट्याउँ-ट्याउँ बोलेर साह्रै जिज्ञासु बन्दै यसरी प्रश्न सोधिरहेका थिए । हेर्दा केही नबोल्लान जस्ता लाग्ने ती बालकलाई विद्यालय भर्ना गराउन ल्याएका थिए, हरिवन नगरपालिका वडा नम्बर १ मा भर्खरै निर्वाचित वडाध्यक्ष टम बहादुर घिसिङले ।
वडाध्यक्ष घिसिङले हरिवन नगरपालिका–१, कोठिखोला निवासी ईन्द्र बहादुर घिसिङका छोरा ६ वर्षीय विरु घिसिङलाई अध्ययनका लागि आईतबार गोर्खा एकेडेमीमा ल्याएका हुन् । हरिवन–८, नारायण चोक स्थित गोर्खा एकेडेमीमा ती बालकलाई भर्ना गराईएको वडाध्यक्ष घिसिङले जानकारी दिए । ‘आज गोर्खा एकेडेमीका सरहरुसँग कुरा गरेपछि भोलीदेखि नै पढ्नका लागि स्कुललमा पठाउनु हाँमी कुनैपनि शुल्क लिदैनौं भनेर उहाँहरुले भन्नु भएको छ’, आईतबार दिउँसो बालकलाई विद्यालयमै लिएर आएका घिसिङले उज्यालो अभियानसँग भने, ‘अब विद्यालय पोशाक अनि ब्याग सहित किताब कापी लगायत आवश्यक शैक्षिक सामग्रीका लागि पनि मनकारी दाताहरुसँग कुरा गरिरहेको छु, सायद भोलीसम्ममा सबै जोरजाम हुन्छ होला ।’ गोर्खा एकेडेमीका सञ्चालक सुवास घिमिरेले अत्यन्तै सेवाभावका वडाध्यक्ष घिसिङले ल्याउनु भएको बेसहारा बालकको पढाई बापत कुनैपनि शुल्क नलिईने जानकारी दिए । वडाध्यक्ष घिसिङले एक वचनमै बालकलाई निःशुल्क पढाईदिने प्रतिबद्धता जनाएको भन्दै गोर्खा एकेडेमीका सञ्चालक सहित सम्पूर्ण शिक्षक एवं कर्मचारीप्रति आभार समेत प्रकट गरेका छन् ।
वडाध्यक्ष घिसिङ निर्वाचन अघि नै भोट माग्न जाने क्रममा ती बालक सहाराको अभावले अध्ययन गर्न नपाएको देखेका थिए । ‘बाबुको बुबा कम्मरभन्दा तल केहीपनि चल्दै नचल्ने गरी अशक्त अवस्थामा दिनरात सुतेर दिन बिताउनु पर्ने अवस्थामा हुनुहुँदो रहेछ, आमा छाडेर अन्तै गईसकिछन्’, वडाध्यक्ष घिसिङले भने, ‘ती बुबाको दिसापिसाब फाल्ने, छिमेकी ठूलोबुबाको घरबाट खाना लगेर खुवाउने अनि बेलाबेलामा पानी लगेर खुवाउने काम यिनै बालकले गर्दै आएका रहेछन्, मैले त बाबुलाई कतै बालआश्रममा राख्न पहल गर्छु भनेको, उनका बुबाले मलाई बिहान बेलुका खाना पानी खुवाउने, दिसापिसाब फाल्ने सहारा नै हुँदैन, बरु यतै कतै विद्यालयमा पढाईदिनु भए हुन्थ्यो भन्नुभयो ।’
शनिबार वडाध्यक्ष घिसिङले यो पंक्तिकार लगायत पत्रकारहरुलाई ईन्द्र बहादुरको घरमै बोलाएर उनी र उनका छोराको अवस्थामा जानकारी गराएका थिए । ईन्द्र बहादुरका अनुसार सिन्धुपाल्चोकमा भूकम्पपीडितको घर बनाउने काममा मजदुरी गर्ने क्रममा उनी घाईते भएका हुन् । ‘घरको काम नभएको दिन ठेकेदारले रुख काट्न लिएर गएका थिए, रुख ढलेपछि भाग्ने क्रममा भिरबाट लड्न पुँगे’, शनिबार गहभरी आँसु पार्दै घिसिङले पत्रकारहरुसामु भने, ‘बरु मरेको भए हुन्थ्यो, यस्तो बिजोग त हुदैनथ्यो होला ।’
गम्भिर घाईते भएका ईन्द्र बहादुरको कम्मरभन्दा तल कुनैपनि अंग चल्दैन । श्रीमति पनि छाडेर अन्तै गएपछि उनको सहारा तीनै बालक विरु बनेका छन् । ‘बाबाको सु फाल्छु, पानी दिन्छु’, शनिबार पत्रकारहरुसँग विरुले भने, ‘बाबालाई छाडेर टाढा त जान्न, नजिकै भए पढ्छु ।’ सानो उमेरका भएपनि ट्याउँ ट्याउँ बोल्ने विरु साह्रै टाठा देखिन्छन् । जे होस् घिसिङजस्ता निस्वार्थ अरुको सेवामा जुट्ने वडाध्यक्ष पाएपछि वीरुले पढ्ने अवसर पाएका छन् । ‘सकेसम्म अशक्त ईन्द्र बहादुरलाई पनि कतै त्यस्ताखाले संघ संस्थामा राखिदिन पाए हुन्थ्यो’, वडाध्यक्ष घिसिङ भन्छन्, ‘बुबालाई कतै राखिदिन पाए यो बाबुलाई पनि कुनै आश्रममा राखेर शिक्षा दिक्षा दिलाउन निकै सजिलो हुने थियो ।’ केही वर्ष पहिला बन्द भएको सन्तानेश्वर प्राविको भवनमै आश्रय लिएर बस्ने गरेका ईन्द्र बहादुर र विरुलाई छेउमै घर रहेका दाजुका परिवारले खाना पकाएर दिने गरेका छन् ।
ईन्द्र बहादुरका दाजु दुर्गा बहादुर घिसिङको समेत केही वर्षअघि आगलागीबाट घर तथा घर भित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो । हरिवन लगायत अन्य विभिन्न ठाउँका युवाहरुले उनको पक्की घर बनाउने अभियान सूरु गरेपनि झ्याल, ढोका तथा छाना नहालेर अधुरै छाडेकाले दुर्गा बहादुरको परिवार पनि सानो झुपडीको सहारामा बस्दै आएका छन् । वडाध्यक्ष घिसिङले उक्त घर निर्माण कार्य पूरा गराउन पनि आफूले पहल सूरु गरेको र दाताहरुसँग कुरा भईरहेको जानकारी दिए ।
वडाध्यक्ष घिसिङ चुरे डाँडा स्थित विलन्दीमा एक बालिका जंगली मान्छे जस्तै रुखमा झुण्डिएर बस्ने गरेको र घर परिवारसँग टाढै रहने गरेको देखेको र उक्त बालिकालाई पनि उद्धारको खाँचो रहेको बताउँछन् । त्यस्तै केराबारीमा एक बजगाईं परिवारका अभिभावक नै कम्मरदेखि तल कुनैपनि अंग नचल्ने गरी थला परेपछि सो परिवारलाई समेत सहयोगको अवश्यकता रहेको वडाध्यक्ष घिसिङले जानकारी दिए । आफूले कार्यभार सम्हालेपछि यस्ता बेसहारा अनि दिनदुःखीका लागि नगरपालिकाबाट हुनसक्ने यथाशक्य सहयोग गर्न पहल गर्ने समेत वडाध्यक्ष घिसिङले पत्रकारहरुसँग सुनाए ।
नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेद्वार बनेका घिसिङ निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका निवर्तमान वडाध्यक्ष राम बहादुर क्याप्छाकी मगरलाई निकै फराकिलो मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । उनले १ हजार १०५ ल्याउँदा एमालेका मगरले ६२२ मत मात्र पाए । वर्षौंंदेखि चुरे क्षेत्रमा खानेपानी, विद्युत लगायत विकास निर्माण तथा बेसहारा, दिनदुःखीहरुको सहारामा जुट्दै आएका घिसिङलाई त्यहाँका जनताले अत्यधिक मत सहित वडाध्यक्षमा जिताएर थप जिम्मेवारी समेत दिएका छन् । त्यसैले त टम बहादुर पनि मतदाताले दिएकाे मतकाे एक-एक गरि ऋण चुकाउन उनिहरुकाे सेवामा जुट्न थालिसकेका छन् । अन्य विजयी उम्मेद्वारहरु नेता कार्यकर्ताहरुकाे लर्काे लगाउँदै बाजागाजा सहित नाँच्दैगाउँदै रमाईलाेका साथ गाउँ घुमिरहेका छन् । तर टम बहादुर घिसिङ भने वडाध्यक्षमा निर्वाचित भएर चुरे क्षेत्रकाे विकट डाँडाकाँडा मात्र पर्ने आफ्नाे वडामा विजयी यात्रा मात्र नगरी, दिनदुःखी अनि बेसहाराकाे अवस्था समेत बुझ्दै हिँडिरहेका छन् । हरेक गाउँटाेलमा पुग्ने वितिकै उनी खानेपानी र विद्युत अनि बाटाेघाटाेकाे अवस्था के छ भनेर गाउँलेहरुसँग बुझिहाल्छन् ।