टंक बहादुर क्षेत्री/ब्रम्हपुरी – सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्विप गरेको छ ।
यसअघिको निर्वाचनमा राजपाबाट निर्वाचित भई हाल लोसपाको पोल्टामा रहेको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष सहित सबै पदमा बाजी मार्दै कांग्रेसले क्लिनस्विप गरेको हो । अध्यक्षमा रामपदारथ साह ४ हजार ६६८ मतसहित निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा राप्रपा प्रजातान्त्रिकबाट उठेका ७६ वर्षीय रामपदारथ साह नेतृत्वको टिमले तत्कालिन राजपाका कमाण्डर ३९ वर्षीय विनोद कुमार साहसँग लज्जास्पद् हार व्यहोरेको थियो । तर यो पटक उनै ८० वर्षीय रामपदारथले अधिकांश पुरानै सारथि सहित कांग्रेसी कमाण्डर बन्दै राजपाबाट लोसपाका कमाण्डरमा रुपान्तरण भएका ४४ वर्षीय विनोदको उहि पुरानै टिमसँग बदला लिएरै छाडे । विनोद यो पटक रामपदारथ भन्दा एकहजार ३९७ मतले पछाडी परे ।
त्यस्तै उपाध्यक्षमा कांग्रेसकै श्यामकला यादव चारहजार ६१० मत ल्याएर निर्वाचित भएकी छिन् । निकटतम् प्रतिस्पर्धी लोसपाकी गीता देवी रायले तीनहजार ३११ हजार मत प्राप्त गरिन् । श्यामकला भने यो पटक नयाँ अनुहार हुन् । गत चुनावमा रामपदारथसँगै उपाध्यक्षमा उठेकी संगिता महासेठ कपरी यो पटक जनमत पार्टीबाट उपाध्यक्षमा उठेपनि उनले ४२७ मत मात्र पाईन् ।
यस्तै, ब्रह्मपुरी गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा निरञ्जन प्रसाद कलवार विजयी भएका छन् । उनले गत चुनवमा आफूलाई हराएका लोसपाका नगिना प्रसादलाई नै हराए । वडा नं. २ मा शंकर साह तेली निर्वाचित भएका छन् । उनले पनि गत चुनावमा आफूलाई हराएका राजेन्द्र साह तेलीलाई नै हराएका छन् ।
त्यसैगरी वडा नं. ३ मा गौतम कुमार यादव निर्वाचित भए । उनले गत चुनावमा आफूलाई हराएका लोसपाका श्याम ईन्दल साहलाई यो पटक पराजित गरेका हुन् । वडा नं. ४ मा श्याम बाबु साह विजयी भए । उनले गत चुनावमा आफूलाई पराजित गरेका लोसपाका शेख अताउर रमानलाई यो पटक हराएका हुन् ।
त्यसैगरी वडा नं. ५ को वडाध्यक्षमा नविन कुमार यादव ४६९ मत सहित निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका योगेन्द्र राय कुर्मीले ३८१ मत ल्याए । गत चुनावमा आफूलाई हराएका लोसपाका कुष्ण मोहन कापरले भने यो पटक ३५६ मत मात्र पाएका छन् । वडा नं. ६ मा हिरेन्द्र कुमार यादव एकहजार १ मत ल्याउँदै अत्यन्त फराकिलो मतान्तर सहित निर्वाचित भए । हिरेन्द्रलाई गत चुनावमा हराएका लोसपाका श्यामबाबु रायले यो पटक ५३४ मत मात्र पाएका छन् । त्यस्तै वडा नं. ७ मा रामसागर महतो कोइरी निर्वाचित भए । गत निर्वाचनमा राजपाबाट उठेर आफूलाई पराजित गरेका र यो पटक भने जसपाबाट उठेका श्याम सुन्दर यादवलाई कोइरीले बदला लिएरै छाडे ।
विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा सकृय रहेका ब्रम्हपुरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रामपदारथ साह पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल कुमार थापासँगै कांग्रेसमा प्रवेश गरेका हुन् ।रामपदारथले आफू जनताको सुखदुःखमा साथ दिनका लागि उम्मेद्वारी दिएको र मतदाताले विश्वास गरेर आफूलाई जिताएको बताएका छन् । आफूमा कुनै लोभ लालच नरहेकाले विशुद्ध गाउँपालिकाबासीको सेवामा निरन्तर सकृय रहने उनले यो पंक्तिकारसँग प्रतिबद्धता जनाए । जिल्ला विकास समितिको उपसभापति समेत भईसकेका र यो निर्वाचनमा सर्लाहीका सबैभन्दा जेठा उम्मेद्वार रामपदारथले क्लिनस्विपबाट ब्रम्हपुरीको मोर्चा सम्हाल्ने अवसर त पाएका छन्, तर काम भने कस्तो गर्नेछन् भन्ने थाहा पाउन कुर्नै पर्नेछ ।