मंगलबार बिहान श्रीपुरमा भएकाे पुनः मतदानमा सहभागी हुँदै एक महिला मतदाता ।

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नमवर १७ काे आधारभूत विद्यालय परोरिया मतदान स्थलका २ वटा मतदान केन्द्रमा आज (मंगलबार) बिहानबाट शान्तिपूर्ण ढंगले मतदान भईरहेकाे छ ।


निर्वाचन आयोगले उक्त वडामा गत शुक्रबार भएकाे मतदान रद्द गरि पुनः मतदान गर्ने निर्णय अनुसार आज बिहान ७ बजेबाट मतदान भईरहेकाे हाे । जम्मा एकहजार ९५४ मतदाता रहेकाे उक्त दुवै मतदान केन्द्रमा याे समाचार तयारपार्दा सम्म ६० प्रतिशत भन्दा बढी मत खसिसकेकाे छ । जबकी गत शुक्रबार साँझ ५ बजेसम्म पनि १८ प्रतिशत मत मात्र खसेकाे थियाे । मतदान स्थलमा उल्लेख्य संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी परिचालन गरेर कडा सुरक्षा व्यबस्थाका बीच मतदान कार्य भईरहेकाे निर्वाचन अधिकृत पंगेनीले जानकारी दिए । मतदान स्थल आसपास नेपाली सेनाकाे गस्ती समेत बढाईएकाे छ । मतदान स्थलमा मतदान गर्न बिहानैदेखि मतदाताकाे भिड लागेकाे छ ।


त्यहाँ जनता समाजवादी पार्टी पक्षले आफू पक्षीय मतदातालाई गत वैशाख ३० गते शुक्रबार बिहानै मतदान गराएपछि मध्यान्हबाट भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको आराेप सहित नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारले पुन: मतदानकाे माग गर्दै उजुरी दिएपछि आयाेगले पुन: मतदान गर्ने निर्णय गरेकाे थियाे । निर्वाचन अधिकृत दशरथ पंगेनीले साँझ ५ बजे मतदान सकिने बितिकै मतगणनाकाे प्रकृया सूरु गरिने बताए ।