बागमति स्थित पुतली चाेकमा पूर्व-पश्चिम राजमार्गमा चक्काजाम गर्दै माओवादी कार्यकर्ताहरु ।

बागमती – बागमती नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएकाे छ ।
एमाले कार्यकर्ताहरुकाे आक्रमणमा आफ्ना कार्यकर्ताहरु घाईते भएकाे आराेप लगाउँदै माओवादी कार्यकर्ताले बागमतिकाे पुतलीचाेक स्थित पूर्व-पश्चिम राजमार्गमा टायर बालेर नाराबाजी सहित चक्काजाम गरिरहेका छन् । दुई घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्द भईरहेकाे छ ।
माओवादीका अनुसार झडपमा परि आफ्ना आधा दर्जन बढी कार्यकर्ता घाईते भएका छन् । आफ्ना गम्भीर घाईते दुईजना कार्यकर्तालाई उपचारका लागि काठमाडाैं पठाईएकाे माओवादीले जनाएकाे छ । झडप बागमती नगरपालिका–१२, स्थित बथनिया प्रावी मतदान केन्द्र बाहिर भएकाे हाे ।
बागमती–१२, का २७ बर्षका अमन लामा र सोही स्थानका अनदाजी ३४ बर्षका सानु मगरलाई उपचारका लागि काठमाडाैं पठाईएकाे माओवादीले जनाएकाे छ । यता एमाले नेता रेवती पन्तले भने माओवादी कार्यकर्ताकाे आक्रमणबाट आफ्ना एक दर्जन बढी कार्यकर्ता घाईते भएकाे दाबी गरेका छन् । प्रहरीले भने मतदान स्थल बाहिर झडप भएकाे र घाईतेहरुकाे आधिकारिक विवरण एकिन भईनसकेकाे जनाएकाे छ ।