शुक्रबार दिउँसाे पटक पटक झडप भएपछि मतदान सूचारु गराउन काैडेना-६ आधारभूत विद्यलय मतदान केन्द्रमा खटिएकाे नेपाली सेनाकाे टाेली ।
मलंगवा – मतपेटिका संकलन गरेर निर्वाचन अधिकृतकाे कार्यालयमा पुर्याएपछि विभिन्न राजनैतिक दलका कार्यकर्ताद्वारा ढुंगामुढा भएपछि काैडेना गाउँपालिका कार्यालयमा सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । त्यस्तै चक्रघट्टा गाउँपालिका-१ शिवनगरमा पनि मतपेटिका उठाएर लैजाने बेलामा ढुंगामुडा भएपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । दुवै ठाउँमा दर्जनाैं राउण्ड हवाई फायर भएकाे स्थानीय बासिन्दाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेखरेलले काैडेना र चक्रघट्टामा स्थिती नियन्त्रण बाहिर गएपछि हवाई फायर गर्नु परेकाे जानकारी दिए । उनले जिल्लाभर मतदान सम्पन्न भएकाे र अहिले मतपेटिका संकलन गरेर मतगणना स्थलसम्म पुर्याउने काम भईरहेकाे प्रउ पाेखरेलले बताए । प्रमुख जिल्ला अधिकारी थानेश्वर देवकाेटाले १७ वटा स्थानीय तहकाे मतपेटिका निर्वाचन अधिकृतकाे कार्यालयमा ल्याईसकिएकाे र ३ वटा स्थानीय तहकाे मतपेटिका ल्याउने क्रममा रहेकाे जानकारी दिए ।