भारतीय सिमा स्थित मुख्य मलंगवा नाका । (फाईल तस्बिर)
मलंगवा – स्थानीय तहको निर्वाचन अन्तर्गत वैशाख ३० गते हुने मतदानको दिनलाई लक्षित गरी मंगलबार(गए) राती १२ बजेबाट सर्लाहीको नेपाल–भारत सीमा नाकाहरु सिल(बन्द) गरिएको छ ।
मतदानको दिनभन्दा ७२ घण्टाअघि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने प्रचलन अनुसार राती १२ बजेपछि जिल्लाको दक्षिणी भेगका सबै सीमा नाकाहरु बन्द गरिएको सर्लाहीका प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनले मतदान सम्पन्न हुने दिन अर्थात शुक्रबार राती १२ बजेबाट मात्रै सीमा नाकाहरु सुचारु हुने बताए । सीमा सिल भएसँगै दुई देशबीच पैदल र सबारी साधन ओहोरदोहोर पूर्ण रुपमा बन्द भएको छ । अत्यावश्यक बाहेक सम्पूर्ण आवागमन रोकिने प्रजिअ गौतमले जानकारी दिए ।
केही दिनअघि महोत्तरीको बर्दिवासमा बसेको सर्लाही, महोत्तरी र रौतहटका सुरक्षा अधिकारी तथा भारत सीतामढीका सुरक्षा अधिकारीहरुबीचको बैठकले वैशाख २७ गते राती १२ बजेदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो । मतदानको दिन नजिकिँदै गर्दा भारतीय सीमा क्षेत्रमा सुरक्षा सतर्कता समेत बढाइएको छ ।