हरिवन बजार स्थित पूर्व-पश्चिम राजमार्गमा माओवादी कार्यकर्ताले चक्कजाम गरेपछि खटिएका सुरक्षाकर्मी ।
हरिवन – सर्लाहीको हरिवनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताद्वारा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग दुई घण्टापछि सुचारु भएको छ ।
आफ्नो पार्टीबाट हरिवन नगरपालिका वडा नम्बर ११ मा वडाध्यक्षका उम्मेद्वार शेख ईस्तिहार सहितलाई सुनियोजित रुपमा बीस खुवाईएको भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गर्दै आईतबार दिउँसो २ घण्टा बढी राजमार्ग अवरुद्ध पारेका थिए । घटनामा संलग्नलाई नियन्त्रणमा लिएर निश्पक्ष अनुसन्धान गर्ने प्रहरी प्रशासनबाट प्रतिबद्धता प्राप्त भएकाले अवरुद्ध राजमार्ग खुलाईएको माओवादी केन्द्रका सर्लाही संयोजक कमल बुढाथोकीले जानकारी दिए । ‘सीडीओ साब र नेपाल प्रहरीका डीएसपी साबबाट मिठाई खुवाउने घरका मान्छेलाई तुरुन्त नियन्त्रणमा लिएर अनुसन्धान गर्ने प्रतिबद्धता प्राप्त भएको छ’, बुढाथोकीले भने, ‘देशकै मुटु मानिने पूर्व–पश्चिम राजमार्ग धेरैबेर अवरुद्ध गरेर आम जनतालाई दुःख दिनु हुदैन भनेर राजमार्ग अवरोध हटाएका हौं ।’
आईतबार दिउँसो घरदैलोको क्रममा एक घरमा दिएको मिठाई खाँदा आफ्नो पार्टीबाट हरिवन नगरपालिका वडा नम्बर ११ का वडाध्यक्षका प्रत्यासी शेख ईस्तिहार, वडा सदस्यका उम्मेद्वार ओमप्रकाश साह सहित ५ जना बिरामी भएको माओवादी केन्द्रले जनाएको छ । इस्तिहार र साहलाई हरिवनस्थित स्वाभिमान अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगंज रेफर गरिएको छ । अन्यको भने हरिवन स्थित स्वाभिमान अस्पतालमै उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए । ‘स्वाभिमान अस्पतालका चिकित्सकका अनुसार बिरामीहरुको शरिरमा प्वाजिनिङ देखिएको छ’, प्रउ पोखरेलले उज्यालो अभियानसँग भने, ‘हाँमीले बिरामीहरुले गरेको बमिटिङ संकलन गरेर परीक्षणका लागि पठाउँदै छौं भने घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान अगाडी बढाएका छौं ।’
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेकाले अहिल्यै एकीन विवरण भन्न नसकिने जनाएको छ । हरिवन प्रहरीले शंकास्पद व्यक्तिहरुमाथि अनुसन्धान समेत सुरु भइसकेको बताएको छ ।