स्वर्गिय वडाध्यक्ष बराल ।
लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–४, हरिभवनका वडाध्यक्ष सोमनाथ बरालको सोमबार निधन भएको छ ।
स्वास्थ्यमा अचानक समस्या आएपछि वैशाख १३ गते काठमाण्डौं लगिएका बरालको नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार मध्यान्ह निधन भएको हो । ६१ वर्षीय बराललाई सुरुमा पिसाबमा इन्फेक्सन देखिएपछि काठमाण्डौं लगिएको थियो ।
त्यहाँ लगेर थप परीक्षण गर्दा चिकित्सकले उनको किड्नी फेल भएको र शरीरका अन्य अंगले समेत काम गर्न छाडेको बताएका थिए । त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अवस्थामा सोमबार मध्यान्ह चिकित्सकले मृत घोषणा गरेका हरिभवनका स्थानीयवासी एवं लालबन्दी नगरपालिकाका निवर्तमान नगरप्रमुख मानबहादुर खड्काले जानकारी दिए ।
स्वर्गिय बरालको शव अहिले काठमाण्डौंबाट सर्लाही ल्याउँदै गरिएको खड्काले बताए । शव सोमबार राती अबेरसम्म गाउँ ल्याएर मंगलबार बिहान बागमतीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले सोमबार एक सूचना जारी गर्दै मंगलबार बिहान ७ बजे स्वर्गिय बरालको निजी निवास हरिभवनमा श्रद्धान्जली सभा राखिएकाले नगरपालिकाका पदाधिकारी, कर्मचारी र अन्यलाई उपस्थितिका लागि अनुरोध गरेका छन् । बरालको श्रीमती र दुई छोरा छन् ।
उनी २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । पुनः चुनाव नलड्ने भएकाले उनले वडाध्यक्षको पदबाट राजिनामा दिएका थिएनन ।
बहालवाला जनप्रतिनिधिको निधनले आउँदो ३० गते हुने निर्वाचनमा कुनै असर नपर्ने निर्वाचन अधिकृतको कार्यालय लालबन्दीले जनाएको छ ।