logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

मुलुकमै सबैभन्दा बढी स्थानीय तह रहेकाे सर्लाहीका १६ पालिकामा पूरानै प्रमुखले उम्मेद्वारी दाेहाेर्याए


  • उज्यालो अभियान

गत वैशाख १२ गते साेमबार सदरमुकाम मलंगवा स्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा उम्मेद्वारी दर्ताका लागि जुलुस सहित आएकाे भिड । (तस्बिर : उज्यालाे अभियान)

मलंगवा – मुलुकमै सबैभन्दा धेरै स्थानीय तह रहेको सर्लाहीका २० स्थानीय तहमध्ये १६ वटा स्थानीय तहमा पूराना प्रमुखले पुनः साेही पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।

लालबन्दी नगरपालिका र हरिपूर्वा नगरपालिका तथा पर्सा गाउँपालिका र रामनगर गाउँपालिकाबाहेक अन्य पालिकामा यसअघिकै प्रमुखले पुनः टिकट लिएर उम्मेद्वारी दर्ता गराएका हुन् । नेकपा एमालेबाट ईश्वरपुर नगरपालिकामा मनोजकुमार देवकोटा र हरिवन नगरपालिकामा गणेश प्रसाद प्रसाईंले मेयर पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।

बागमती नगरपालिकामा नेकपा माओवादी केन्द्रका भरत कुमार थापाले दोहोर्याएर उम्मेद्वारी दिएका छन् । कविलासी नगरपालिकाको प्रमुखमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित नगरप्रमुख कौशलकिशोर रायले यो पटक एमालेमा प्रवेश गरेर उम्मेद्वारी दिएका छन् ।

सदरमुकाम मलंगवा नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख निरसल साहले पार्टी परिवर्तन गरी जनता समाजवादी पार्टीबाट उम्मेद्वारी दिएका छन् । कांग्रेसले नगरप्रमुखमा नागेन्द्र रायलाई उठाएपछि साहले पार्टी बद्लेर पुनः नगरप्रमुखमा उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी बलरा नगरपालिकामा गत निर्वाचनमा राजपाबाट वीजयी अभय कुमार सिंहले लोसपाबाट र गोडैता नगरपालिकामा गत निर्वाचनमा राजपाबाट वीजयी देवेन्द्र कुमार रायले लोसपाबाट, बरहथवा नगरपालिकामा नेकपा माओवादी केन्द्रका देवानन्द महतो, हरिपुर नगरपालिकामा तत्कालिन नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख जमिरुद्धिन मन्सुरले यो पटक नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, जिल्लाको चन्द्रनगर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महेन्द्र महतो, धनकौल गाउँपालिकामा नेपाली कांग्रेसबाट रामआश्रय साह, ब्रम्हपुरी गाउँपालिकामा तत्कालिन राजपाबाट निर्वाचित विनोद कुमार साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट, चक्रघट्टा गाउँपालिकामा माओवादी केन्द्रबाट विक्रम यादव, बसबरिया गाउँपालिकामा नेपाली कांग्रेसका रामअयोध्या राय र विष्णु गाउँपालिकामा कांग्रेसकै जवाहारलाल रायले पुनः सोही पदमा उम्मेद्वारी दिएका छन् ।

लालबन्दी नगरपालिका, हरिपूर्वा नगरपालिका, पर्सा गाउँपालिका र रामनगर गाउँपालिकामा चुनाव जितेका दलहरुले प्रमुखमा याे पटक नयाँ अनुहार अघि सारेका छन् ।
२०७४ मा एमालेले जितेको लालबन्दीमा यो पटक गोविन्द महत, कांग्रेसले जितेको हरिपूर्वामा विनोद कुमार साह, कांग्रेसले नै जितेको रामनगरमा हरिनन्दन यादव र तत्कालिन मधेसी जनअधिकार फोरमले जितेको पर्सामा अहिलेको जनता समाजवादी पार्टीले दिनेश रायलाई टिकट दिएको छ । हरिपुरमा एमालेबाट वीजयी हरिपुरका मेयर जमिरुद्दिन मन्सुर नेकपा एकीकृत समाजवादीमा गएपछि एमालेले यादव सरकारलाई नगरप्रमुखको उम्मेद्वार बनाएको छ ।

लालबन्दीका मानबहादुर खड्का, हरिपूर्वाका शियाराम राय र पर्साका किसुनदेव रायलाई पार्टीले यो पटक टिकट दिएन । रामनगरका निर्वाचित गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको भने केही महिनाअघि निधन भइसकेको छ । यस्तै, दलहरुले केही पालिकामा उपप्रमुखहरुलाई पनि दोहोर्याएका छन् भने अधिकांश ठाउँमा नयाँ अनुहारलाई अघि सारेका छन् ।