logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा १०३ मतदान स्थल अति संवेदनशील


  • उज्यालो अभियान

सर्लाही जिल्लाकाे नक्शा ।

मलंगवा – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा १०३ वटा मतदानस्थललाई अति संवेदनशील मानिएकाे छ ।

जिल्ला सुरक्षा समितिले भूगोलको विकटता, यातायातको असुविधा र विगतका निर्वाचनमा दलहरुबीच भएका झै-झगडा, विवाद एवं अपराधिक घटना लगायतलाई आधार मानेर वर्गिकरण गर्दा १०३ वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलको सूचीमा राखेको हो । ती मतदानस्थलमा २०५ मतदान केन्द्र रहेका छन् ।

अति संवेदनशील मतदानस्थलहरु अधिकांश निर्वाचन क्षेत्र नम्वर ३ र ४ का रहेका छन् । यस्तै, जिल्लामा १८४ वटा मतदानस्थल संवेदनशील छन् । संवेदनशील रहेका १८४ वटा मतदानस्थलमा ३३९ वटा मतदान केन्द्र रहेका छन् ।

सुरक्षा निकायले जिल्लाको ३१ वटा मतदानस्थललाई भने सामान्यको सूचीमा राखेकाे छ । ती ३१ वटा सामान्य मतदानस्थलमा ५५ वटा मतदान केन्द्र रहेका छन् ।

मतदानस्थल र मतदान केन्द्रको संवेदनशीलतालाई विश्लेषण गरी सोही अनुसार आवश्यक सुरक्षा प्रवन्ध मिलाइने जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।  आउँदो निर्वाचनका लागि सर्लाही जिल्लाभर ३१८ वटा मतदानस्थल र ५९९ वटा मतदान केन्द्र कायम गरिएको छ ।

२०७४ सालको निर्वाचनमा पनि सर्लाहीमा मतदानस्थल ३१८ वटै रहेका थिए । यो पटक मतदान केन्द्र भने ५१८ बाट थपेर ५९९ पुर्याइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिए । उनका अनुसार मतदाता बढेको आधारमा मतदान केन्द्रहरु थपिएको हो ।