सोमबार बरहथवा नगरपालिकामा उम्मेदवारी दर्ताको काम गरिँदै । (तस्बीर : उज्यालो अभियान)
बागमती – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बागमती नगरपालिकाका मेयर उम्मेद्वार भरत कुमार थापा र बलरा नगरपालिकाका मेयर उम्मेद्वार अभय कुमार सिंह विरुद्ध उजुरी परेको छ । अन्य पालिकामा पनि विभिन्न उम्मेद्वारहरु विरुद्ध उजुरी परेको छ ।
बागमती नगरपालिकाका निवर्तमान मेयर थापा विरुद्ध प्रहरी कार्बाहीमा मारिएका कुमार पौडेलका बुबा खीलक राज पौडेलले उजुरी दिएका हुन् । उजुरीमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन र जिल्ला प्रशासन कार्यालयको पत्र प्रमाणको रुपमा प्रस्तुत गरिएको छ । कुमार पौडेल कार्बाही घटनामा मृतक पौडेलका बुबा खीलकले दिएको किटानी जाहेरीमा मेयर थापाको नाम समेत भएको र सर्बोच्च अदालतले समेत छानविन गर्न आदेश दिएको छ । प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेपछि पीडितले हुलाक मार्फत पठाउँदा समेत दर्ता नभएपछि सर्बोच्च अदालतमा रिट हालेका थिए ।
बागमतीका निर्वाचन अधिकृत विकाउ कुमार यादवले उजुरी उपर छानविन भईरहेको र विहिबार साँझसम्म निर्णय आउने जानकारी दिए । यसअघि स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मेयरमा जीतेका थापाले यो पटक पनि माओवादीबाटै मेयरमा उम्मेद्वारी दिएका छन् ।
त्यस्तै बलरा नगरपालिकाका मेयरको उम्मेद्वार अभय कुमार सिंह विरुद्ध पनि उजुरी परेको छ । जनमत पार्टीबाट मेयर पदका उम्मेद्वार संजय कुमार सिंहले मेयरका उम्मेद्वार अभय कुमार सिंह विरुद्ध बेरुजु तिर्नुपर्ने र पेश्की फछ्र्यौट गर्नुपर्ने भन्दै उजुरी दिएका हुन् । महालेखा परीक्षकको कार्यालयको २०७८ को वार्षिक प्रतिवेदनमा बलरा नगरपालिकाको लेखापरीक्षण प्रतिवेदन अनुसार ११ करोड ८० लाख १८ हजार रुपैंया बेरुजु देखिएको र ५ करोड ३६ लाख ८४ हजार रुपैंया भने असुल नै गर्नुपर्ने उल्लेख छ ।
बलराका निर्वाचन अधिकृत रंजित कुमार यादवले मेयर पदका उम्मेद्वार अभय कुमार सिंह र अर्का एकजना वडाध्यक्ष विरुद्ध उजुरी परेको जानकारी दिए । विहिबार साँझसम्म उजुरी उपर छानविन गरी निर्णय गरिने उनले बताए ।
अभय कुमार सिंह यसअघिको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीको तर्फबाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । सिंहले यो पटक लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा उम्मेद्वारी दिएका छन् ।
सर्लाहीका विभिन्न स्थानीय तहमा गरी १७ वटा उजुरी परेको छ । सबैभन्दा धेरै जिल्लाको बसबरिया गाउँपालिकामा उम्मेदवारी दिएका ७ जनाविरुद्ध उजुरी परेको छ । बागमती नगरपालिकामा ४ जना उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको बलरामा दुईवटा तथा लालबन्दी, कविलासी, रामनगर र ब्रम्हपुरीमा एक÷एक वटा उजुरी दर्ता भएका छन् । ती उजुरीहरुमाथि विहिबार साँझसम्म छानबिन गरेर सकिने र दोषी प्रमाणित भए उम्मेदवारी रद्ध गरिने बताइएको छ ।
त्यस्तै चन्द्रनगर गाउँपालिकामा पनि ३ जना उम्मेदवारविरुद्ध उजुरी आएकोको भएपनि रितपूर्वक नआएकाले त्यहाँ कुनै पनि उजुरी दर्ता भएको छैन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरुद्धमा हिजो दावी विरोधको उजुरी गर्ने समय दिइएको थियो ।
नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको उम्मेदवारमाथि उजुरी दिन सकिन्छ । यस्तै भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने व्यक्ति पनि उम्मेदवार हुन पाउँदैनन् । जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्तिले उम्मेदवारी दिएको भए उसको उम्मेदवारी पनि रद्द हुन सक्छ ।