logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एमालेबाट लालबन्दीको मेयरमा खड्काको उम्मेदवारी खारेज, महतको दर्ता


  • उज्यालो अभियान

उम्मेदवारी खारेज भएका खड्का (बायाँ) र आधिकारिक उम्मेदवार महत ।

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा एमालेभित्र मेयर पदको उम्मेदवारको विषयलाई लिएर उत्पन्न विवाद मिलेको छ ।

एमालेबाट मेयरमा २ जनाले टिकट लिएर आएपछि उम्मेदवारी दर्ता गर्न समस्या परेको थियो । निवर्तमान मेयर मानबहादुर खड्कालाई प्रदेश कमिटी तथा नेता गोविन्द महतलाई केन्द्रीय कमिटीले मेयरमा बेग्लाबेग्लै टिकट दिएको थियो ।

प्रदेश कमिटीबाट निकट पाउनासाथ निवर्तमान मेयर खड्काले सोमबार बिहान ११ बजेर ४० मिनेटमै प्रस्तावक र समर्थक मात्रै लिएर सुटुक्क निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका थिए । पछि एमाले नेताहरु बसेर नेता गोविन्द महतले प्राप्त गरेको टिकटलाई आधिकारिक मानेर अघि बढ्ने निर्णय भयो ।

सोही अनुसार महत उम्मेदवारी दर्ताका लागि मेयरमा उम्मेदवारी दिइसकेका मानबहादुर खड्का र अन्य नेता कार्यकर्तासहित दिउँसो २ बजेपछि लालबन्दी नगरपालिकाको पुरानो भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगे । तर निर्वाचन अधिकृतको कार्यालयले एमालेबाट मेयरमा पहिले नै उम्मेदवारी दर्ता भइसकेको भन्दै तत्कालै महतको नाममा अर्को उम्मेदवारी दर्ता गर्न मानेन । त्यसपछि एमाले नेताहरुले प्रदेश र केन्द्रीय कमिटीबाट आफ्नो पार्टीको उम्मेदवार गोविन्द महत नै रहेको पत्र लेखाएपछि साँझ ४ः४५ बजे बल्ल महतको नाममा उम्मेदवारी दर्ता भयो ।

नेता महतले अब आफू एमालेबाट मेयरको आधिकारिक उम्मेदवार भएको बताए । एमालेले उपमेयरमा सनसरीमाया थिङलाई उठाएको छ ।

यस्तै, सोमबावर नै लालबन्दीमा नेपाली काँग्रेसबाट मेयरमा बासुदेव अधिकारी र उपमेयरमा कल्पना पाख्रिन, नेकपमा माओवादी केन्द्रबाट मेयरमा प्रल्हाद बुढाथोकी र उपमेयरमा सुमित्रा श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट मेयरमा रमा पौडेल र उपमेयरमा गोविन्द अधिकारीको उम्मेदवारी दर्ता भएको छ ।