कांग्रेसबाट मेयरको उम्मेदवार बासुदेव अधिकारी र माओवादीबाट मेयरमा उठने चर्चा भएका प्रल्हाद बुढाथोकी ।
लालबन्दी – चुनावी तालमेलको विषयले निकै चर्चा पाइरहेको सर्लाहीको लालबन्दी नगरपालिकामा सत्ताधारी नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेलको सम्भावना निकै न्यून बन्दै गएको छ ।
दुवै पार्टीका नेताहरु तालमेलको विषयमा केही दिनदेखि निरन्तर छलफलमा थिए । तर अब केन्द्रबाट कुनै विशेषखालको निर्णय नभए यहाँ तालमेल हुने सम्भावना न्यून रहेको र एक्लाएक्लै चुनाव लड्ने तयारी गरिरहेको दुवै पार्टीका नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेस लालबन्दीका नगर सभापति प्रशान्त आचार्यले माओवादी केन्द्रसँग अब तालमेलको सम्भावना लगभग सकिएको बताए । कांग्रेसले लालबन्दीको मेयरमा बासुदेव अधिकारी र उपमेयरमा कल्पना पाख्रिनलाई अघि सारिसकेको छ ।
माओवादीले भने मेयरको उम्मेदवार टुंग्याइसकेको छैन् । माओवादीबाट लालबन्दीको मेयरमा चर्चा भइरहेका नेता प्रल्हाद बुढाथोकीले पनि कांग्रेससँग तालमेलको सम्भावना कम हुँदै गएको बताए । बुढाथोकीले माओवादीबाट मेयरमा आफू नै उठने बताएका छन् ।
यस्तै, कांगे्रससँग चुनावी तालमेलको संभावना सकिएपछि माओवादी केन्द्रका नेताहरु आइतबार दिउँसोबाट नेकपा (एकीकृत समाजवादी) सँग तालमेलका लागि छलफलमा जुटिरहेका छन् । माओवादी केन्द्र लालबन्दीका अध्यक्ष लेखराज जर्गा मगरले माओवादीले मेयर लिएर समाजवादीलाई उपमेयर दिने गरी छलफल चलिरहेको बताए ।
यसअघि कांगे्रसले पनिसमाजवादीसँग तालमेलको प्रयास गरेपनि सहमती बन्न सकेको थिएन ।