logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा माओवादीबाट भए शिवपुजनका छोरादेखि योजना आयोगका पूर्व सदस्य उम्मेदवार


  • उज्यालो अभियान

हरिवन – स्थानीय तहको निर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले सर्लाहीका १३ वटा पालिकामा प्रमुखको उम्मेदवार टुंग्याएको छ । ११ वटा नगरपालिका मध्ये लालबन्दी र हरिपूर्वामा भने माओवादीले मेयरको उम्मेदवार टुंग्याउन सकेको छैन ।

माओवादीले ९ वटा नगरपालिकाहरु मध्ये बागमतीमा हालका मेयर भरतकुमार थापा, हरिवनमा जिल्ला संयोजक कमल बुढाथोकी, बरहथवामा हालका मेयर देवानन्द महतो, कबिलासीमा ब्रम्हदेव यादव, मलंगवामा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. अब्दुल रहिम मिकरानी, हरिपुरमा सुनिल कुमार बुढाथोकी, ईश्वरपुरमा जयप्रकाश चौधरी, गोडैतामा अनिता देवी र बलरामा रामाशंकर कुशवाहालाई उम्मेदवार चयन गरेको छ । हरिवनमा बुढाथोकी गत निर्वाचनमा पनि निकटतम प्रतिद्वन्द्वी थिए भने गोडैताकी अनिता देवी र हरिपुरका बुढाथोकी समेत गत स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार रहेका थिए ।

त्यस्तै गाउँपालिकाहरु मध्ये रामनगरमा संविधान सभा सदस्य शिवपुजन रायका छोरा राजाबाबु राय, चक्रघट्टामा हालकै अध्यक्ष बिक्रम यादव, पर्सामा सुधिर झा र धनकौलमा फकिरा महतोलाई अध्यक्षको उम्मेद्वार तोकिएको माओवादीका जिल्ला संयोजक कमल बुढाथोकीले जानकारी दिए । २०६४ मा तत्कालिन क्षेत्र नम्बर ६ बाट हाल लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर तथा नेपाली कांग्रेसका नेता डा. अमरेश कुमार सिंहलाई हराएका शिवपुजन रातो पासपोर्ट काण्डका कारण २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा माओवादीबाट उम्मेद्वार बन्न पाएका थिएनन् । माओवादीले शिवपुजनलाई गुन तिर्नका लागि उनका छोरा राजाबाबुलाई रामनगर गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाएको छ । त्यस्तै धनकौलका उम्मेद्वार फकिरा महतो २०७४ सालको प्रदेश सभा निर्वाचनमा क्षेत्र नं. ४ प्रदेश सभा क बाट उम्मेदवार थिए ।

बुढाथोकीका अनुसार अन्य पालिकाहरुमा पनि उम्मेदवार छनौटको काम अन्तिम चरणमा पुगिसकेको छ । सत्ता गठबन्धन दलहरुबीच तालमेलको हकमा पनि अझै छलफल हुन सक्ने बुढाथोकीले जानकारी दिए । ‘हाम्रो पार्टीबाट उम्मेदवार छान्ने काम पनि भईरहेको छ र तालमेलको लागि पनि छलफल जारी छ, तालमेल भयो भने सोही अनुसार उम्मेदवार हुनेछन् ।’ बुढाथोकीले उज्यालो अभियानसँग भने ।

भोली आईतबार र पर्सी सोमबार उम्मेदवार मनोनयनको दिन आईसके पनि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा लगायतले समेत अझै पनि उम्मेद्वारहरुको टुंगो लगाउन सकेका छैनन् । कांग्रेसको उम्मेदवार चयनका लागि मधेश प्रदेश समितिको बैठक जनकपुरमा बस्ने तयारीमा छ । बालुवाटरमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित पार्टीका शिर्ष नेताहरुको बैठक जारी रहेको र उक्त बैठकमा हुने सहमति अनुसार प्रदेश समितिको बैठक बसेर आज (शनिबार) राती सम्म उम्मेदवारहरुको छिनोफानो हुने कांग्रेस मधेश प्रदेश समितिका एक नेताले जानकारी दिए ।