बलरा – सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटपिट गरेका छन् ।
वडाध्यक्षबाट राजीनामा दिएर वडाको सबै सरसमान बरबुजारथ गर्नेक्रममा मण्डलले ल्याएको भर्पाईमा सही गर्न नमानेका कारण आफूलाई कुर्सी प्रहार गरेको वडासचिव पण्डितले बताए । उनले वडाध्यक्षले सही गर्न लगाएको कागजपत्र नगरपालिकाले मात्र प्रमाणित गर्न मिल्ने खालको भएको पनि बताएका छन् ।
वडाध्यक्षको कुटाइबाट घाइते भएका पण्डितलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि शुक्रबार साँझ सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा ल्याइएको छ । उनको टाउकोमा १६ वटा टाँका लगाइएको छ ।
सचिव पण्डितमाथि कुटपीट गर्ने वडाध्यक्ष मण्डल भने फरार छन् । वडाध्यक्ष मण्डललाई घरमा नभेटिएको र देख्नासाथ पक्राउ गर्न स्थानीय प्रहरी चौकीलाई निर्देशन दिइसकेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
फोटो क्याप्सन : मलंगवामा उपचाररत वडा सचिव रामेश्वर पण्डित ।