शियाराम राय (बाँया) र महेन्द्र महतो । (दायाँ)
हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिकाका मेयर शियाराम रायले पदबाट राजिनामा दिएका छन् ।
रायले फेरि पनि मेयरमा चुनाव लड्ने उद्देश्यले शुक्रबार पदबाट राजिनामा दिएका हुन् । उनले उपमेयर चन्द्रकला देवी सुडीलाई राजिनामा बुझाएका हरिपूर्वा नगरपालिका कार्यालयले जनाएको छ ।
राय २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । यो पटक पार्टीले उनलाई टिकट दिने, नदिने भन्ने निश्चित भइसकेको छैन् तर उनले टिकट पाउने आशमा राजिनामा बुझाएका हुन् ।
अघिल्लो चुनावमा आफूले मेयरमा जितेपनि कांग्रेसले बहुमत नपाउँदा काम गर्नै नसकेको र फेरि चुनाव नलडने बताउँदै आएका रायले अन्तिम समयमा आएर भने फेरि मेयरमै प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।
यस्तै, शुक्रबार नै जिल्लाको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले पनि पदबाट राजिनामा दिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गाउँपालिका अध्यक्षमा पुनः एकल सिफारिसमा परेका महतोले गाउँपालिकाकी उपाध्यक्ष विनादेवी साहलाई राजिनामा बुझाएका हुन् ।
लोसपाका नेता एवं पूर्वमन्त्री राजेन्द्र महतोका सहोदर दाई महतो २०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । तत्कालिन राजपाबाटै निर्वाचित गाउँपालिकाकी उपाध्यक्ष साहले भने केही दिनअघि लोसपा त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।
सर्लाहीमा अधिकांश दलहरुले उम्मेदवारी दर्ताको अघिल्लो दिन शनिबारमात्रै उम्मेदवारहरुको अन्तिम टुंगो लगाउने तयारी गरिरहेका छन् । त्यसैले पनि धेरै जनप्रतिनिधिहरु राजिनामा नबुझाई बसेका छन् ।
निर्वाचन आयोगले वैशाख ३० गतेको निर्वाचनमा पुनः दोहोरिएर चुनाव लड्ने उम्मेदवारले राजिनामा दिएर मात्रै उम्मेदवारी दिनुपर्ने उल्लेख गरेको छ । राजिनामा नबुझाई उम्मेदवारी दिने जनप्रतिनिधिको उम्मेदवारी नै रद्ध हुने आयोगले जनाएको छ ।
आयोगले देशैभरी वैशाख ११ र १२ गते उम्मेदवारहरुको मनोनयन पत्र दर्ताको मिति छुट्याएको छ । यदि पुनः टिकट पाउने निश्चित भए जनप्रतिनिधिहरुले ११ वा १२ गते पहिले राजिनामा बुझाएर त्यसपछि उम्मेद्वार दर्ता गराउन सक्ने छन् ।
फेरि चुनाव नलड्ने जनप्रतिनिधिले भने तत्काल पदबाट राजिनामा बुझाउनु पर्ने छैन् । उनीहरुले आगामी जेठ ५ गतेसम्म पदमा रहेर काम गर्न पाउने छन् ।