लालबन्दीमा खोलिएको निर्वाचन अधिकृतको कार्यालय । (तस्बिर : उज्यालो अभियान)
मलंगवा – सर्लाहीका २० वटै स्थानीय तहमा बिहीबार एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन सम्पन्न गर्न जिल्लाका ११ वटा नगरपालिका र नौवटा गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय खोलिएको हो । बिहीबार नै सदरमुकाम मर्लगवास्थित जिल्ला समन्वय समितिको परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना गरिएको छ ।
सर्लाहीका मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृत र १९ वटा स्थानीय तहको कार्यालय रहेकै भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिए । सदरमुकाम मलंगवा नगरपालिकाको हकमा भने मुख्य निर्वाचन अधिकृत पियाले नै निर्वाचन अधिकृतको समेत जिम्मेवारी सम्हालेकाले त्यहाँ निर्वाचन अधिकृतको बेग्लै कार्यालय खोलिएको छैन् ।
वैशाख ३० को निर्वाचन गराउन सर्लाहीका २० वटै पालिकामा निर्वाचन अधिकृतहरु खटिसकेका छन् । निर्वाचन आयोगको प्रतिनिधिका रुपमा पालिकाहरुमा खटिनुभएका उनीहरुले चुनावको सबै तयारीदेखि मतदान र मतगणनापछि निर्वाचित जनप्रतिनिधिको घोषणा गर्ने छन् ।
चुनावी तालिका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ । १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ गते मनोनयन पत्र र उजुरी जाँचबुझ गरी १६ गते अन्तिम नामावली प्रकाशन हुनेछ । १७ गते आयोगले उम्मेदवारलाई चुनाव चिह्न दिने तयारी गरेको छ ।
सर्लाहीमा वैशाख ३० को निर्वाचनका लागि चार लाख ७४ हजार ४३९ मतदाताको अन्तिम नामावली कायम भएको छ । जसमा दुई लाख ५७ हजार १३८ जना पुरुष, दुई लाख १७ हजार २९२ जना महिला र नौ जना तेस्रो लिङ्गी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२०७४ सालको निर्वाचनमा सर्लाहीभर कूल मतदाताको सङ्ख्या तीन लाख ६६ हजार ६०५ रहेको थियो । अहिले एक लाख सात हजार ८३४ जना मतदाता थपिएका छन् । यस्तै, सर्लाहीमा ३१८ वटा मतदान स्थल र ५९९ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दीवाकर भुजेलले जानकारी दिए ।
मतदान स्थल पहिला पनि ३१८ वटै रहेको थियो । मतदान केन्द्र भने ५१८ बाट थपेर ५९९ पु¥याइएको निर्वाचन कार्यालयका प्रमुख भुजेलले बताए ।
मतदाता बढेको आधारमा मतदान केन्द्र थपिएको कार्यालय प्रमुख भुजेलको भनाई छ । यसैगरी, स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा राष्ट्रिय मान्यता प्राप्त छवटा र अन्य २९ वटा गरी ३५ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।