निर्वाचन आचारसंहिताबारे जानकारी गराउँदै जिल्ला निर्वाचन कार्यालयका प्रमुख दीवाकर भुजेल । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – निर्वाचन आचारसंहितका विषयमा सर्लाहीका राजनीतिक दल, सुरक्षा अधिकारी, निर्वाचन अधिकृत, संचारकर्मीलगायत अन्य सरोकारवालाहरुलाई प्रष्ट पारिएको छ ।
मंगलबार दिउँसो सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको सभा हलमा जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आचारसंहितामा सबैभन्दा धेरै ख्याल गर्नुपर्ने क्षेत्रका जिम्मेवार व्यक्तिहरुलाई एकै ठाउँमा भेला पारेर आचारसंहिताबारे प्रष्ट पारेको हो । जिल्ला निर्वाचन कार्यालय मलंगवा, सर्लाहीका प्रमुख दीवाकर भुजेलले आचारसंहिताका प्रावधानका विषयमा सहभागी सबैलाई जानकारी गराउँदै प्रष्ट्याएका थिए ।
भुजेलले सबैलाई निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह गर्दै अन्तक्र्रियामा सहभागी भएकाहरु आचारसंहिता पालना गराउने व्यक्तिहरु समेत भएकाले यसमा सहयोग गरिदिन अनुरोध पनि गरे । उनले आचारसंहिताको उल्लंघन गर्दा हुने दण्ड जरिवानाको सम्वन्धमा पनि सहभागी सबैलाई जानकारी गराएका छन् ।

बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागूभइसकेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षता तथा सर्लाहीका जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत धु्रव कुमार पियाको प्रमुख आतिथ्यतामा भएको अन्तक्र्रियामा चारवटै सुरक्षा निकायका प्रमुख, २० वटै पालिकामा खटाइएका निर्वाचन अधिकृत, राजनीतिक दलका प्रमुख एवं पार्टी प्रतिनिधि, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
निर्वाचन कार्यालयका प्रमुख भुजेलले कार्यक्रममा निर्वाचन कार्यतालिका र जिल्लामा भइरहेको निर्वाचनको तयारीबारे पनि अवगत गराएका थिए ।