logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

चुनावी तालमेलबारे निर्णय गर्न सर्लाहीमा गठवन्धनको बैठक बस्दै


  • उज्यालो अभियान

मलंगवा – चुनावी तालमेलका विषयमा निर्णय गर्न सर्लाहीमा मंगलवार फेरि सत्तारुढ गठवन्धनको बैठक बस्दै छ ।

सदरमुकाम मलंगवामा सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को बैठक बस्न लागेको हो । यसअघि पनि गठवन्धनको बैठक बारम्बार बसेपनि कुनै निष्कर्ष निस्कन सकेको छैन् ।

नेपाली कांग्रेस सर्लाहीका एक नेताका अनुसार सर्लाहीमा गठवन्धन दलबीच चुनावी तालमेल हुने सम्भावना निकै कम छ । एक दलले अर्को दलको उम्मेदवारलाई स्वीकार गरेर चुनावमा जाने अवस्था नै नरहेको ती नेताले बताए ।

गठवन्धनका नेताहरु गएराती अबेरसम्म जनकपुरमा समेत पुगेर बैठकमा बसेको भएपनि कुनै सहमती हुन नसकेको बुझिएको छ । केन्द्रमा झैँ जिल्लामा पनि अहिले कांग्रेससहित गठवन्धनभित्रकै दलहरु एक्लाएक्लै चुनाव लड्नुपर्ने पक्षमा देखिएका छन् ।

यस्तै, गठवन्धन दलबीच चुनावी तालमेलको विषयमा छलफल भइरहँदा एउटै पार्टीभित्र फरक समूहलाई छलफलमा सहभागी नगराएको भन्दै विवाद भइरहेको छ । कांग्रेसको तर्फबाट गठवन्धनको बैठकमा संस्थापन पक्षका केही नेताहरु मात्रै सहभागी भएको र आफूहरुलाई थाहै नदिएको भन्दै संस्थापन पक्षकै केही नेता र संस्थापन इतर पक्ष असन्तुष्ट छ ।

गठवन्धन हुने नहुने भन्ने अन्यौलताका कारण दलहरुले उम्मेदवार छान्न पनि सकिरहेका छैनन् । नेकपा एमालेले भने पालिका तथा वडाहरुमा धमाधम उम्मेदवार सिफारिस गर्ने र कतिपय ठाउँमा सर्वसम्मत समेत भइरहेको छ ।