चन्द्रनगर – सर्लाही चन्द्रनगर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम नारायण महतो कोइरीले कार्यालय प्रयोजनको लागि प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल सोमबार गाउँपालिकामा बुझाएका छन् ।
निर्वाचन आचारसंहिता लागु भएपछि वडा अध्यक्ष महतोले कार्यालय प्रयोजनको लागि गाउँपालिकाबाट प्रदान गरिएको मोटरसाइकल फिर्ता गरेको जनाइएको छ । वडा अध्यक्ष महतोले प्रयोग गर्दै आएको ना. १ ब ३१२१ नम्बरको मोटरसाइकल फिर्ता गरेका हुन् ।
चन्द्रनगर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष महतोले मोटरसाइकलको साँचो र मोटरसाईकल हस्तान्तरण पत्र प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिंगलाई हस्तान्तरण गरेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा बहालवाला जनप्रतिनिधिहरुले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन धमाधम फिर्ता गर्न थालेका छन् ।
निर्वाचन आचारसंहितालाई ध्यानमा राखी आफुले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गरेको वडा अध्यक्ष महतोले बताए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता लागू भइसकेका कारण अब गाउँपालिकाको सेवा सुविधा लिनु उपयुक्त नभएकोले एवम आसन्न स्थानीय निर्वाचन र आचार संहिताको सम्मानमा आफूले चढ्दै आएको सवारी साधन गाउँपालिकालाई फिर्ता गरेको वडा अध्यक्ष महतोले बताए ।