logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एमालेबाट लालबन्दी नगरपालिकाको मेयरमा ९ र उपमेयरमा ११ जनाको नाम सिफारिस


  • उज्यालो अभियान

लालबन्दी – नेकपा एमालेको तर्फबाट लालबन्दी नगरपालिकाको मेयरमा ९ जनाको नाम सिफारिस भएको छ ।

आइतबार लालबन्दी–६, स्थित मदन आश्रीत भवनमा बसेको नगर कमिटीको बैठकले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट मेयर पदका लागि ७ जना पुरुष र २ जना महिला गरी ९ जनाको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको हो । मेयरको उम्मेद्वारका लागि सिफारिसमा पर्नेहरुमा प्रभुनारायण शिवाकोटी (श्याम), मानबहादुर खड्का, बलराम पोखरेल, बेचुराज तिमल्सिना, उज्वल कार्की, उत्पला ढुंगेल, गोविन्द बहादुर महत, नवराज मिश्र र पवित्रा घिमिरे रहेका छन् । सिफारिसमा परेका ९ जनामध्ये मानबहादुर खड्का बहालवाला मेयर हुन् ।

यस्तै, उपमेयरमा ११ जनाको नाम सिफारिस भएको छ । उपमेयरमा अनु हाँडा, कुशुम कुमारी घिमिरे (इन्दिरा), गंगाराम महतो, निर्मला कुमारी थिङ, वर्षा कुमारी लामा, मिना देवकोटा, रीता ब्लोन, रुकमणि चौधरी, ललिता कुमारी वान्तवा (शारदा), सरसरी माया थिङ र शान्ति लामाको नाम सिफारिस भएको छ ।

मेयर तथा उपमेयरमा कसैको नाममा पनि सर्वसम्मती हुन नसकेपछि आकांक्षी सबैको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको एमाले लालबन्दी नगर कमिटीका नेता डिल्ली अधिकारीले उज्यालो अभियानलाई जानकारी दिए । उनका अनुसार कसैको पनि नाम पहिलो, दोस्रो, तेस्रो नम्बरमा नभई अंग्रेजी अल्फावेट अनुसार जसको नाम अगाडि आउँछ, उसैको नाम क्रमैसँग राखेर टिकटका लागि जिल्ला कमिटीमा पठाइएको हो ।

२०७४ सालको निर्वाचनमा अन्य पार्टीका उम्मेद्वारलाई भारी मतान्तरले पराजित गर्दै लालबन्दी नगरपालिकाको मेयर र उपमेयरमा एमालेकै उम्मेदवार विजयी भएका थिए । सर्लाहीमा अहिले एमालेको पालिका स्तरीय कमिटीहरुले धमाधम उम्मेद्वारहरुको नाम जिल्ला कमिटीलाई सिफारिस गरिरहेको छ ।

अहिलेसम्म बागमती नगपालिकाले मात्रै मेयर, उपमेयर र बहुसंख्यक वडाहरुमा एकल नाम सफारिस गरेको छ । ईश्वरपुर नगरपालिकाको मेयरमा ५ जना र उपमेयरमा ३ जनाको नाम सिफारिस भएको छ ।