logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सशस्त्र प्रहरीले दुध बोक्ने ट्यांकर भित्र मलखाद फेला पार्यो


  • उज्यालो अभियान

मलखाद बोकेर बरहथवाबाट नयाँरोडतर्फ आउँदै गर्दा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ट्यांकर ।
ट्यांकरको एउटा डिब्बा भित्र राखिएको मलखादका बोरा ।

मलंगवा – सशस्त्र प्रहरी बलको टोलीले मलखाद बोकेको अवस्थामा दुध बोक्ने ट्यांकर नियन्त्रणमा लिएको छ ।

शनिबार दिउँसो सबा २ बजे बरहथवाबाट नयाँरोडतर्फ आउँदै गरेको ना. ७ ख १०६६ नम्बरको दुध बोक्ने ट्यांकर सशस्त्र प्रहरी बल धरहरा बेस क्याम्पको टोलीले नियन्त्रणमा लिएको हो । बागमती नगरपालिका–२ स्थित धरहराबाट नियन्त्रणमा लिईएको दुध बोक्ने ट्यांकर भित्रको एउटा डिब्बामा २५ बोरा यूरिया मलखाद बरामद् भएको छ । तीनवटा डिब्बा मध्ये बीचको डिब्बा भित्र २५ बोरा मल राखिएको थियो ।

सशस्त्र प्रहरी बल धरहरा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक योग बहादुर थापा नेतृत्वको टोलीले मल बोकेको दुध बोक्ने ट्यांकर नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बल १० नम्बर गण कबिलासी पठाएको छ । ट्यांकरसँगै चितवनको खैरिनी–६ निवासी चालक ३६ वर्षीय शम्भु चौधरी र जुम्लाको चन्द्रनाथ नपा–३ निवासी २६ वर्षीय सहचालक खड्ग बहादुर खत्रीलाई समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको नेपाल डेरी प्रालिको ट्यांकर, मलखाद र चालक तथा सहचालकलाई आवश्यक कार्बाहीका लागि मलंगवा भन्सार कार्यालय बुझाईने सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापाले जानकारी दिए ।