मलंगवा – नवगठित जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिएका छन् ।
शनिबार बिहान सर्लाही सदरमुकाम मलंगवामा पत्रकारहरुसँग कुरा गर्दै त्रिपाठीले बैशाख ३० का लागि तोकिएको चुनाव निर्धारित मितिमै हुनुपर्ने बताएका हुन् । उनले नागरिकलाई अबको चुनावबाट सही र योग्य जनप्रतिनिधि चुन्न समेत आग्रह गरेका छन् ।
गएको मंसिर २८ गते जनता प्रगतिशील पार्टी नेपाल गठन गरेको घोषणा भएपछि पहिलो पटक सर्लाही आएका त्रिपाठीले नेपाली राजनीतिमा देखिएको राष्ट्रवादले देशलाई दलदलमा फसाउने काम गरेको भन्दै नयाँ पार्टी खोल्नु परेको प्रष्ट्याएका छन् । उनले आफ्नो पार्टी भ्रष्टाचारमुक्त स्थानीय तहको मूल नारा लिएर चुनावमा जाने उद्घोष समेत गरे ।
पूर्वमन्त्री समेत रहेका नेता त्रिपाठीले स्थानीय तहमा बजेटको सही ढंगले प्रयोग नभइरहेको र भ्रष्टाचार ब्याप्त रहेको तर्क गरेका छन् ।