मलंगवा – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अहिले (शनिबार) दिउँसो सर्लाही सदरमुकाम मलंगवा आउँदै छन् ।
एमाले सर्लाहीले आयोजना गरेको पार्टी प्रवेश एवं वृहद् आमसभालाई सम्बोधन गर्न केन्द्रीय अध्यक्ष ओली सर्लाही आउन लागेका हुन् । हेलिकप्टरबाट दिउँसो १ बजे मलंगवा ओर्लने ओलीको सुरक्षार्थ मात्र एमाले सर्लाहीले ५०० जना युवा दस्ता खटाउने भएको छ । नेकपा एमाले सर्लाही प्रचार प्रसार विभाग संयोजक विदुर प्याकुरेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीको सुरक्षार्थ ५०० जना स्वयंसेवक दस्ता तयार पारिएको जानकारी दिएका थिए । भारतीय सीमा क्षेत्र नजिक तथा निकै लामो समयपछि मलंगवा आउने भएकाले कार्यक्रममा निकै भिडभाड हुने हुँदा अध्यक्ष ओलीको सुरक्षार्थ तथा कार्यक्रम व्यवस्थापनका लागि पार्टी सम्बद्ध ५०० जना युवा दस्ता परिचालन हुने उनको भनाई थियो ।
हालसम्म सबै राजनैतिक दल आमसभा होस् वा जुनसुकै भिडभाडयुक्त राजनैतिक कार्यक्रम जिल्ला समन्वय समितिको तीन बिगे मैदानमा गर्दै आएका थिए । तर एमाले सर्लाहीले भने पहिलो पटक कभर्ड हलको चौरमा आमसभा आयोजना गरेको छ । त्यो पनि जिल्ला प्रहरी कार्यालयको नाकैमा । अत्यन्त गर्मी मौसम भएकाले कभर्ड हलको चौरमा वरिपरी रुखहरु रहेको र ठाउँपनि ठूलो भएको हुँदा आमसभाका लागि कभर्ड हलको चौर रोजिएको एमाले सर्लाही प्रचार प्रसार संयोजक प्याकुरेलले जानकारी दिए ।
आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह लगायतका नेताहरु समेत आउने बताइएको छ । पार्टी केन्द्रीय अध्यक्ष ओलीले लामो समयपछि सर्लाहीमा उपस्थित भई सम्बोधन गर्ने आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा जिल्लाभरबाट एक लाख कार्यकर्ता उतार्ने तयारी रहेको एमाले सर्लाहीले जनाएको छ । कार्यक्रममा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट निर्वाचित हाल जनता समाजवादी पार्टी (जसपा) आवद्ध कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवसहितका जनप्रतिनिधि र अन्य पार्टीका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले सर्लाहीले जनाएको छ । अन्य विभिन्न पालिकाका वडाध्यक्ष सहित जनप्रतिनिधीहरु पनि एमालेमा प्रवेश गर्ने दाबी गरिएको छ ।