logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

अध्यक्ष ओलीले सम्बाेधन गर्ने आमसभाकाे अन्तिम तयारीमा जुट्याे सर्लाही एमाले


  • उज्यालो अभियान

पत्रकार सम्मेलनमा उपस्थित एमाले नेताहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाही सदरमुकाम मलंगवामा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुन लागेको आमसभा एवं पार्टी प्रवेश कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेकाे एमाले सर्लाहीले जनाएकाे छ  । 

नेकपा एमाले सर्लाही प्रचार प्रसार समितिले शुक्रबार हरिवनमा पत्रकार सम्मेलन गरी शनिबार दिउँसाे मलंगवास्थित कभर्ड हलकाे चाैरमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेकाे जानकारी गराएको हो । प्रचार प्रसार समितिका संयोजक एवं एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले आमसभामा जिल्लाभरबाट एक लाख बढी नेता कार्यकर्ता भेला हुने दाबी गरे । आमसभालाई सम्बाेधन गर्न अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह लगायतका नेताहरु समेत आउने बताइएको छ ।

पार्टी केन्द्रीय अध्यक्ष ओलीले लामाे समयपछि सर्लाहीमा उपस्थित भई सम्बाेधन गर्ने पार्टी प्रवेश एवं जनसभा सफल रुपले सम्पन्न गर्नका लागि एमाले सर्लाहीले विभिन्न उपसमितिहरु समेत गठन गरेर तयारी तिब्र बनाएकाे छ । कार्यक्रम सफल पार्नका लागि केन्द्रीय सदस्य एवं जिल्ला सह-ईन्चार्ज बद्री न्याैपानेकाे संयाेजकत्वमा जन परिचालन उपसमिति, प्रदेश उपाध्यक्ष रेवती पन्तकाे संयाेजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज कमला देवी महताेकाे संयाेजकत्वमा अतिथि सत्कार  उपसमिति र जिल्ला सचिब केदार खत्रीकाे संयाेजकत्वमा मंच व्यवस्थापन उपसमिति गठन गरिएकाे प्रचार प्रसार समिति संयाेजक प्याकुरेलले जानकारी दिए । उपसमितिका पदाधिकारीहरुले तयारीका लागि युद्धस्तरमा काम गरिरहेको र तयारी लगभग अन्तिम चरणमा पुगेको प्रचार प्रसार समिति संयोजक प्याकुरेलको भनाई छ ।

केदार मैनालीकाे संचालन रहेकाे पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य न्याैपाने, प्रदेश सदस्य एवं हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं, एमाले नेता केशव ढकाल, हरिवनका वडाध्यक्षहरु सिताराम पाेखरेल, यज्ञविनाेद ढुंगेल, शेख मेहबुब रेजा लगायतकाे उपस्थिती रहेकाे थियाे । एमाले अध्यक्ष ओली शनिबार मध्यान्ह काठमाडौंबाट हेलिकप्टरमार्फत मलंगवा स्थित जिल्ला समन्वय समितिकाे तीन बिगे मैदानमा ओर्लने छन् ।

कार्यक्रममा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) बाट निर्वाचित हाल जनता समाजवादी पार्टी(जसपा) आवद्द कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवसहितका जनप्रतिनिधि र अन्य पार्टीका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले सर्लाहीले जनाएको छ । अन्य विभिन्न पालिकाका वडाध्यक्ष सहित जनप्रतिनिधीहरु पनि एमालेमा प्रवेश गर्ने दाबी गरिएकाे छ ।