हरिवन – आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा एक सय बढी वडामा नेकपा एमालेका उम्मेद्वारहरु सिफारिस भएका छन् ।
वडा कमिटीले गाउँ तथा नगर समिति हुँदै वडाध्यक्ष र वडा सदस्यका आकांक्षीहरुको नाम सिफारिस गरेको नेकपा एमाले सर्लाहीका उपाध्यक्ष विदुर कुमार प्याकुरेलले जानकारी दिए । अधिकांश वडामा एक जना भन्दा बढी उम्मेद्वारको नाम सिफारिस भएको छ । केही वडाहरुबाट सर्वसम्मत रुपमा समेत उम्मेद्वारहरुको नाम सिफारिस भएको पार्टीका जिल्ला उपाध्यक्ष प्याकुरेलले बताए ।
केही वडामा त पहिलाे र दाेस्राेमा नाम सिफारिस गर्ने वा एकल उम्मेद्वार सिफारिसका लागि मतदान नै भएकाे बताईएकाे छ । हालसम्म प्राप्त जानकारी अनुसार हरिपुर नगरपालिका वडा नं. ३ फरहद्वामा भने वडाध्यक्षकाे उम्मेद्वार सिफारिसमा मतदान नै भएकाे छ । त्यहाँ २८ मत मध्ये वडाध्यक्षका आकांक्षी लाल महम्मदले १६ र जामुनले १२ मत पाएर पहिलाे र दाेस्राे नम्बरमा नाम सिफारिस भएकाे छ ।
प्याकुरेलले बाँकी वडाहरुबाट पनि बुधबार बेलुकासम्ममा उम्मेद्वारहरुको नाम सिफारिस हुने जानकारी दिए । वडाबाट एक जना भन्दा बढी उम्मेद्वारहरुको सिफारिस भएका ठाउँमा जिल्ला कमिटीले निर्णय गरेर टिकट दिने एमाले सर्लाहीले जनाएको छ ।