जानकीनगर साझेदारी वन क्षेत्रमा कटान भएको सालको रुखको ठुटाहरु । (तस्बिर : उज्यालो अभियान)
लालबन्दी – डिभिजन वन कार्यालय लालबन्दीले सब–डिभिजन कार्यालय जानकीनगरका प्रमुखदेखि सबै कर्मचारी तथा सब–डिभिजन कार्यालय मुर्तियाका सशस्त्र पटीका कर्मचारीमाथि छानविन सूरु गरेको छ ।
छानविनका क्रममा सब–डिभिजन वन कार्यालय जानकीनगरका प्रमुख सहायक वन अधिकृत सुभाष चन्द्र साह सहित त्यहाँ कार्यरत ६ जना र सब–डिभिजन वन कार्यालय मुर्तियाका सशस्त्र (हतियार बोक्ने) फाँटका कर्मचारीहरुलाई डिभिजन वन कार्यालय लालबन्दीमै तानेर छानविन सूरु भएको हो । जानकीनगर साझेदारी वन क्षेत्रमा ब्यापक सालको काठ फँडानी एवं चोरी तस्करी भएको समाचार विभिन्न संचारमाध्यममा प्रकाशन भएपछि डिभिजन वन कार्यायले उक्त वन क्षेत्र हेर्ने दुईवटै सब–डिभिजन वन कार्यालयका कर्मचारीमाथि छानविन सूरु गरेको हो ।
हाल सब–डिभिजन वन कार्यालय जानकीनगरमा सहायक वन अधिकृत वीनय कुमारको नेतृत्वमा सबै नयाँ कर्मचारीहरु खटाईएको छ भने सब–डिभिजन वन कार्यालय मुर्तियामा डिभिजन वन कार्यालय लालबन्दीबाट सशस्त्रको टोली खटाईएको छ । जानकीनगर वन क्षेत्रको सुरक्षामा सब–डिभिजन वन कार्यालय मुर्तिया अन्तर्गतकै सशस्त्र टोली खटिने भएकाले त्यहाँका सशस्त्र टोलीलाई परिवर्तन गरिएको हो ।
जिल्ला वन अधिकृत सन्तोष कुमार झाले जानकीनगर साझेदारी वनमा सालका रुख चोरी तस्करी सम्बन्धि संचार माध्यममा समाचार आएपछि जंगल नीरिक्षणमा जाँदा सालका लाथ्रा रुखहरु काटिएको भेटिएको बताए । ‘कर्मचारीहरुले इमान्दारीताका साथ जिम्मेवारी पुरा नगरेको होकि वा आफ्नो जिम्मेवारी पुरा गर्दागर्दै स्रोत साधनको अभावमा तस्करी रोक्न नसकिएको हो बास्तविक कुरा पता लगाउन तीन सदस्यिय छानविन समिति गठन गरिसकेका छौं’, जिल्ला वन अधिकृत झाले उज्यालो अभियानसँग भने, ‘छानविन समितिले सरोकारवाला पक्षसँग सोधपुछ लगायत छानविनको काम सूरु गरिसकेको छ ।’
जिल्ला वन अधिकृत झाका अनुसार सहायक वन अधिकृत बिरेन्द्र यादवको संयोजकत्वमा भसवनेश्वर महतो र सजन चौधरी रहेको तीन सदस्यीय छानविन समिति गठन गरिएको छ । समितिले केही दिनभित्रै प्रतिवेदन पेश गर्ने र उक्त प्रतिवेदनको आधारमा कर्मचारी दोषी ठहरिए बिभागिय कार्वाही हुने र साझेदारी वन उपभोक्ता समितीका पदाधिकारीहरुको कमी कमजोरी ठहरिए कानुन बमोजिम कार्वाही हुने जिल्ला वन अधिकृत झाले बताए ।
सर्लाहीको हरिपुर-१ र हरिवन-६ मा पर्ने जानकीनगर साझेदारी वनमा पछिल्लो समय व्यापक रुपमा सालका रुखहरुको चोरी तस्करी बढेको स्थानीयले गुनासो गर्दै आएका छन् । वन कर्मचारीहरुकै मिलेमतोमा सालका रुख फँडानी भईरहेको स्थानीयको आरोप छ ।
यो पनि पढ्नोस्
सर्लाहीकाे जानकीनगर साझेदारी वनमा व्यापक फँडानी, सम्बन्धित निकाय उदासिन्