टाइफाइडविरुद्धको खोप कार्यक्रमबारे अन्तरक्रियामा मन्तव्य राख्दै हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुर । (तस्बीर : उज्यालो अभियान)
हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकाले बैशाख ४ गतेबाट नगरभित्रका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ ।
नगरपालिकाको सभा हलमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा बैशाख ४ गतेदेखि ९ गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको जानकारी गराइएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक बिकाउ महतोले देशभरमा झैँ हरिपुरनगरभित्रका बालबालिकालाई पनि पहिलो पटक लगाउन लागिएको टाइफाइडविरुद्धको खोप अभियानलाई सफल बनाउन सबैसँग आग्रह गरे ।
मेयर जमिरुद्धिन मन्सुरको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रमुख तथा पार्टी प्रतिनिधि, कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । टाइफाइडविरुद्धको खोप अभियान संचालन गर्न विभिन्न चरणमा स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
हरिपुर नगरपालिकाभित्र १५ महिनादेखि १५ वर्षसम्मका १४ हजार ४०० बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखाका संयोजक महतोले बताए । सर्लाहीमा अहिले पहिलो चरणमा विभिन्न १० वटा पालिकाका बालबालिकालाई खोप लगाउने क्रम चलिरहेको छ ।
हरिपुरसहित अरु बाँकी १० वटा पालिकामा दोस्रो चरणमा बैशाख ४ देखि ९ गतेसम्म खोप अभियान चल्ने हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामनरेश ठाकुरले जानकारी दिए ।